कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका बाघको आक्रमणमा परि एक जना वृद्धको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाका अनुसार जिराभवानी गाउँपालिका वडा नम्बर ५ सखवनियाका ६० वर्षीय तुलसी राउत थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।शुक्रवार अपरान्ह घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला थारुमाथि बाघले आक्रमण गरेको थियो । मृतक थारुको दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा शनिवार विहान सुगिभार नजिकैको जंगलमा शव फेला परेको थियो । दिउँसो घाँस काट्न जङ्गल गएका थारु राति अबेरसम्म पनि घर नफर्किएपछि आफन्त र स्थानीयहरुले खोजी कार्य थालेका थिए ।

खोजीकै क्रममा बाघको आक्रमणमा परेर मृत्यु भएको अवस्थामा स्थानीयले उनको शव फेला पारेका हुन । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताउनुभएको छ ।शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।


















