जनकपुरधाम,मधेश सरकारले जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै समाजवादी युवा सङ्घ र समाजवादी विद्यार्थी युनियनले विरोधमा सिटी जुलूस निकालेको छ ।जसपा नेपाल निकटको युवा सङ्गठन तथा विद्यार्थी सङ्गठनले संयुक्त रूपमा मधेश सरकारको जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिटी जुलूस निकालेर सोमवार विरोध प्रदर्शन गरेको हो ।

आफूहरूले कुर्सी जुलुस निकालेर मधेश सरकारलाई जम्बो मन्त्रिपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरे पनि आफूहरूको माग नसुनेकाले सिटी जुलूस निकालेको समाजवादी युवा सङ्घ मधेशका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताउनुभयो । मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकारसमेत नरहेको भन्दै उहाँले राजीनामा माग गर्नुभयो ।
जनकपुरधामको जनक चोकबाट शुरू भएको विरोध ¥याली मधेश भवनतर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजे पनि युवा विद्यार्थीले प्रहरीको घेरा निस्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका थिए ।



















