निजगढ,नेपाल टेलिकम निजगढ शाखाले शुक्रवारबाट नगर क्षेत्रमा कपर वाईर हटाएर फाईबर तार प्रविधिको ईन्टरनेट सेवा शुरु गरेको छ ।टेलिकमको निजगढ कार्यालयमा एक कार्यक्रमबीच निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले कपर वाईरको स्विच बन्द गरेर फाईरबर वाईरको स्विच अन गर्नुभएपछि नयाँ प्रविधिको सेवा शुरु भएको हो । निजगढमा ४ महिना अघिदेखि नै कपर तारसंगंै फाइबर इन्टरनेट सेवा पनि संचालन हुदैआएको भएपनि शुक्रवारबाट भने कपर सिस्टमलाई पूर्णरुपमा हटाइएको हो ।
सो अवसरमा निजगढमा कपर वाईर पुर्णरुपमा बन्द भएको र फाईबरबाट चल्ने नयाँ प्रविधिको ईन्टरनट सेवा सुचारु भएको घोषणा गरिएको थियो ।कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले टेलिकमले पनि निजी इन्टरनेट कम्पनीसंगै सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारी कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा ढिलासुस्ति हुने गरेकोभन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो । नगर प्रमुख पुरीले निजगढका केही स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गर्ने उपभोक्ताहरुले अझै पनि गुणस्तरीय सेवा पाउन नसकेको गुनासो गर्दैे सेवा प्रभावकारी तुल्याउन आग्रह पनि गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल टेलिकमका मधेस प्रदेश निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेले नयाँ प्रविधिको फाइबर इन्टरनेट सेवा शुरु भएपछि निजगढका उपभोक्ताहरु लाभान्वित हुने बताउनुभयो । उहाँले टेलिकमले आफ्ना सबै सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउदै लैजाने बताउनुभयो ।
कार्यक्रममा बोल्दै निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल पनि टेलिकमले गुणस्तरीय सेवालाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।सो कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, टेलिकम वीरगञ्ज शाखाका प्रवन्धक सुजित आनन्द मल्ल, लेखा प्रमुख नेत्रबहादुर भुजेल, चन्द्रपुर शाखा कार्यलयका लेखा प्रमुख महम्मद हसन अन्सारीलगायतको उपस्थिति रहेको थियो ।करिव ३ हजार ५ सय लाइन क्षमताको फाइबर प्रविधिको सेवा अन्तर्गत हाल निजगढमा करिव ३ सय ग्राहक आवद्ध भएका छन । निजगढमा निजी कम्पनीको सुबिसु, ब्रोडलिङ्क, वल्र्डकिङ्क लगायतका ईन्टरनेट सेवा प्रदायिक कम्पनीहरुले पनि सेवा दिदै आईरहेको छन ।


















