निजगढ,सामुदायिक वन दिवसको अवसरमा शुक्रवार निजगढ नगरपालिकाले वडा नम्बर ६ र ७ को जनसृजनशील सामुदायिक वन समुहको वन क्षेत्रमा वृक्षारोपण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले समूहको वन क्षेत्रमा पर्ने भमरा र रंगे खोला दोभानको किनारामा बाँसको बिरुवा रोपेर वृक्षारोपणको उद्धाटन गर्नुभएको थियो ।

वृक्षारोपणको पहिलो दिन हिजो २ दर्जन बाँसको बिरुवा रोपिएको र आगामी दिनमा वन क्षेत्रमा थप २ सय बिरुवाहरु रोपिने वन समूहका अध्यक्ष कुशबहादुर थापाले जानकारी दिनुभयो ।नदी नियन्त्रण र उपभोक्ताहरुको आयआर्जनमा उपयोगी हुने भएकोले खोला किनारा र उजाड जमिनमा हरावती र चाभ जातको बाँसको बिरुवा रोपिएको निजगढ नगरपालिका वन तथा वातावरण शाखा अधिकृत अनिल कोइरालाले जानकारी दिनुभयो । उहाँले सो प्रजातिको बाँस अन्य प्रजातिभन्दा राम्रो मूल्यमा बजारमा बिक्री हुने र जैविक तटबन्धमा पनि उपयोगी ठहरिएको बताउनुभयो ।

निजगढ नगर सामुदायिक वन उपभोक्ता महासंघको सहयोगमा भएको सो कार्यक्रममा निजगढका विभिन्न सामुदायिक वन समूहका प्रतिनिधि र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नगरपालिकाको वन तथा वातावरण शाखाका अधिकृत कोइरालाले गर्नुभएको थियो ।
त्यसैगरी वन दिवसकै अवसरमा शुक्रवार नै निजगढ नगरपालिकाले निजगढ ६ स्थित गौरीशंकर मावि सडकटोलमा विद्यालय स्तरीय वकृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा गौरीशंकर मावि निजगढ ८ की अम्बिका विश्वकर्मा पहिलो र गौरीशंकर मावि निजगढ ६ सडकटोलका दोर्जे लामा व्दितीय तथा विद्यासागर इङ्गलिस स्कुलकी साहना पौडेलले तृतीय स्थान हासिल गरेकी छिन ।त्यसैगरी नेरामावि निजगढ १० लालकी बुद्धिमाया बल र गौरीशंकर मावि सडकटोलका छिरिङ्ग माया बलले सान्त्वना पुरस्कार पाएका छन ।विजेता छात्रछात्रलाई निजगढ नगरप्रमुख सुरथ पुरी, वडा अध्यक्ष घनश्याम तिमल्सिनालगायतले पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए ।‘सामुदायिक वनको प्रभावकारिता, तीनै तहको सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ निजगढ नगरपालिकाले यस वर्ष सामुदायिक वन दिवस मनाइएको हो ।

Leave a Reply