निजगढ,पछिल्लो समय निजगढको रतनपुरी क्षेत्रमा हुदैआएको अनियमित विद्युत आपूर्तिको विरोधमा स्थानीय उपभोक्ताहरु संघर्षमा उत्रिएका छन ।उपभोक्ताहरु संघर्ष समिति नै बनाएर बुधवारबाट आन्दोलनमा उत्रिएका हुन । स्थानीय धनबहादुर खुलालको संयोजकत्वमा गठन भएको संघर्ष समितिले पहिलो चरणको अन्दोलनअन्तर्गत बुधवार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुपाखेती, निजगढ उपवितरण केन्द्रका प्रमुख नरेन्द्र मण्डल र निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गलाई नियमित विद्युत आपूर्तिको माग राखेर ७ बुदेँ ज्ञापन पत्र बुझाएको छ ।
समितिले बुझाएको ज्ञापन पत्रमा नाङ्गो रहेको प्रशारण लाइनको तारमा कभर राखेर सुरक्षित पार्नुपर्ने, मादण्डभन्दा बढी दुरीको स्थानमा पोलहरुमा थप गर्नुपर्ने, प्रशारण लाइन वरिपरीको बाँसघारी तथा रुख यथाशिघ्र कटान गरिनुपर्ने माग गरिएको छ ।

त्यसैगरी छिनछिनमा विद्युत कटौति हुने समस्याको कारण पत्ता लगाएर समाधान गरिनुपर्ने र जीर्ण अवस्थामा रहेको प्रशारण लाइन तथा पोलहरु परिवर्तन गरेर नयाँ राख्र्नुपर्ने माग गरिएको छ ।समितिले निजगढ सव स्टेसनबाट रतनपुरी क्षेत्रको लागि बेग्लै फिडरको व्यवस्था गरी निजगढबाट तानिएको ११ केभि प्रशारण लाइनमा पूरा भोल्टेजसहित विद्युत आपूर्ति हुने व्यवस्था मिलाउन पनि ज्ञापन पत्रमार्फत माग गरेको छ ।निजगढ वडा नम्बर १२ बारथलीको ट्रन्सफर्मर जीर्ण अवस्थामा रहेको र दुर्घटनाको उच्च जोखिम देखिएकोले सो ट्रन्सफर्मरलाई अन्यत्र सार्न पनि माग गरिएको छ । समितिका संयोजक खुलालले बुझाएको ज्ञापन पत्रमा निजगढ वडा नम्बर १०, ११, १२ र १३ नम्बर वडाका विजुली वितरण बाँकी रहेको स्थानमा तत्काल लाइन विस्तार गरिनुपर्ने र रतनपुरी र मकवानपुरको बकैया गाउँपालिकामा आपूर्ति गरिएको विद्युत लाइनको सुरक्षाको लागि प्राधिकरणले छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि माग गरिएको छ ।समितिका संयोजक खुलालले आफूहरुले अघि सारेको माग पूरा गर्न प्राधिकरणले चासो नदेखाए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिनुभएको छ ।

Leave a Reply