नरेश गुप्ता
बरियारपुर,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ भौराटोल र देवताल गाउँपालिका वडा नम्बर ६ जब्दी जोड्ने पसाहा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
नवनिर्मित झोलुङ्गे पुलको देवताल गाउँपालिका अध्यक्ष चन्दनकुमार सिंहले शुक्रबार उद्धघाटन गर्नुभएको हो । तत्कालिन जिल्ला विकास समिति बारा, देवताल गाउँपालिका र ट्रेल बृज सपोर्ट युनिटको संयुक्त लगानीमा ५१ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले जानकारी गराउनुभयो ।
आर्थिक बर्ष २०६८÷०६९ मा शिलान्यास गरिएको भएता पनि टेन्डर सकार गर्ने ठेकेदार कम्पनी टाट पल्टेको कारण र आवश्यक सामग्री आपूर्ति गर्न नसक्दा झोलुङ्गे पुल निर्माणमा ढिलाई भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ओकिल मियाँले बताउनुभयो ।
पुल निर्माण भएसँगै जिल्लाको भारतीय सिमावर्ति क्षेत्रमा पर्ने देवताल गाउँपालिका र सदरमुकाम कलैया उपमहानगरपालिका सडकबाट जोडिएको छ । झोलुङ्गे पुल निर्माणपछि कलैयाबाट देवताल गाउँपालिकासम्म जाने साईकल र मोटरसाईकल यात्रुलाई आवागमनमा सहज भएको कलैया उपमहानगरपालिका वडा नम्बर १४ भौराटोलका राजेश यादबले बताउनुभयो ।
पसाहा खोलामा झोलुङ्गे पुल निर्माण भएपछि सहज भएको गाउँपालिका अध्यक्ष सिंहले बताउनुभयो । यसबाट कलैया र देवतालको दुरी करिव ७ किलोमिटर घटेको उहाँले बताउनुभयो ।