जीतपुर,अङ्ग्रेजसँगको युद्धमा तराइवासी समुदायको योगदान झल्काउने उद्देश्यले नेपाली सेनाले बाराको जीतपुरमा निर्माण थालेको ‘एकीकरण स्मृति उद्यान’ बजेट अभावमा अलपत्र परेको छ ।नेपाली सेनाको श्री नम्बर २८ बाहिनी जीतपुरका प्रमुख सेनानी अमित श्रेष्ठले उद्यान निर्माणमा हालसम्म ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको र बजेट अभावमा थप काम हुन नसकेको बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट बजेट निकासा भएर टेन्डर फाइनल भए बाँकी काम ३ महिनामा सम्पन्न हुने पनि बताउनुभएको छ ।
२ बिगाहा २ कट्ठा ३ धुर क्षेत्रफलमा निर्माण भएको एकीकरण स्मृति पार्क करिब २२ करोड बजेटमा निर्माण हुन लागेको हो । सो मध्ये हालसम्म ५० प्रतिशत रकम मात्रै निकासा भएको जनाइएको छ ।उद्यानमा राख्नका लागि गौतम बुद्ध, पृथ्वीनारायण शाह, नेपाल आमा, चौधरी लडाकु, मथली लडाकु, भोजपुरी लडाकु, मुस्लिम लडाकु र गोर्खाली सिपाहीको प्रतिमा तयार भइसकेको भएपनि बजेट अभावमा राख्ने काम भने अझै हुन सकेको छैन ।
तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले सो उद्यानको ४ वर्षअघि शिलान्यास गर्नुभएको थियो । २ बिघा २ कट्ठा ३ धुर क्षेत्रफलमा प्रदर्शनी भवन, तलेजु भवानी मन्दिर, मूल प्रवेशद्वार, गढी प्रवेशद्वार, एम्पिथिएटर, शौचालय, फ्ल्याग स्ट्याण्डलगायतका संरचना निर्माणको काम बजेट अभावले अधुरै अवस्था छ । नेपाल अङ्ग्रेज युद्धताका अधिकांश अंग्रेज फौज मधेसका इलाकाबाट आएको र उनीहरूलाई रोक्न गोर्खाली फौजलाई तराई मधेसका जनताले योगदान र बलिदान दिएको नेपालको इतिहासमा उल्लेख गरिएको पाइन्छ ।मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले तत्कालीन समयमा अङ्ग्रेजविरुद्धको युद्धमा तराईवासी र पहाडवासीले संयुक्त रुपमा लडेर अङ्ग्रेज सेनाहरूलाई परास्त गरेको स्मरणमा यो पार्क निर्माण गरिएको बताउनुभएको छ । उहाँले अङ्ग्रेजसँगको युद्धमा मधेसका मुस्लिमहरूले घरेलु हतियार बनाएर सप्लार्यर गर्ने काम गरेको पनि बताउनुभएको छ ।े युद्धमा मधेसका जनताले बेलायतीहरूले पिउने पानीको कुवाहरू थुनेर बन्द गरिदिएको र गाउँमा बस्न नदिएका कारण उनीहरु पानी खान नपाएर र भोक भोकै परेर मधेसबाट पहाडतर्फ उक्किन नसकेको उहाँले बताउनुभयो ।

















