वीरगन्ज,वीरगन्जको सीमावर्ती शहर रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।रक्सौल–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर प्रारम्भिक डीपीआर समेत बुझाइसकेको भारतीय कम्पनी कोंकर रेलवे कर्पोरेसन लिमिटेडले बैशाखको १५ गते भित्र अन्तिम डीपीआर तयार पारिसक्ने बताइएको छ ।रक्सौल–काठमाडौं रेलमार्गको डिपिआर तयार भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा रक्सौल काठमाडौं विद्युतीय रेलमार्गलाई मुख्य एजेण्डा बनाइएको छ ।भारतको रक्सौलबाट वीरगन्ज, डुमरवाना कोल्हबी र निजगढ हुदै मकवानपुरबाट सिधै ललितपुर निस्कने गरी रेलमार्गको डिपिआर तयार गरिएको स्रोतको भनाइ छ । भारतीय पक्षले समेत रेलमार्गलाई विशेष चासोको रुपमा लिएको बताइएको छ ।प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा कूटनीतिक र अनौपचारिक स्तरबाट भएका छलफलले एजेन्डाहरू तयार पारेको र त्यसमध्ये सबैभन्दा प्राथमिकतामा रक्सौल–काठमाडौँ रेलमार्गलाई अघि बढाउने विषय रहेको कूटनीतिक स्रोतले जनाएको छ । ‘भ्रमणलाई अर्थपूर्ण बनाउनुपर्छ भन्ने भारतीय पक्षको भनाइ थियो ।त्यसका लागि दुई देशबीच कूटनीतिक र अनौपचारिक स्तरमा धेरै विषयमा छलफल भइरहेको छ । भारतले मुख्य गरी रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग निर्माण कार्यलाई अघि बढाउने विषय प्राथमिकतामा राखेको छ,’ स्रोतले भन्यो, ‘डीपीआर तयार पार्ने काम अन्तिम चरणमा पुगेको र वैशाखको दोस्रो सातासम्म बुझाउने भन्ने भएपछि त्यसैलाई भ्रमणको मुख्य आकर्षण बनाउने गरी मिति घोषणा गर्ने तयारी भइरहेको छ ।’प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने छ । नेपालले यो परियोजनालाई अनुदानमा बनाइदिन आग्रह गरे पनि भारतले ऋण वा अनुदान भन्ने स्पष्ट पारेको छैन । यस विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र सम्झौताका क्रममा भारतले आर्थिक मोडालिटीका बारेमा स्पष्ट पार्ने सम्भावना छ । भारतले यसैलाई ‘अर्थपूर्ण सम्झौता’ का रूपमा प्राथमिकतामा राखेको छ ।नेपाल र भारतबीच २०७६ भदौ १५ मा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५ को जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए ।१० पुसमा प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रचण्डले भारत भ्रमणमा जान चासो देखाइरहेका थिए । तर, भारतले भ्रमणमा पर्याप्त गृहकार्य गर्नुपर्ने भन्दै औपचारिक निमन्त्रणा दिएको थिएन । यद्यपि, भ्रमणको तयारी स्वरूप दुवै पक्षले निरन्त छलफल भने गरिरहेका थिए । भारतले महत्वपूर्ण परियोजनामा काम अघि बढ्ने गरी भ्रमणलाई अर्थपूर्ण बनाउनु पर्ने भन्दै आएको थियो ।यसअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपालको दुई दिने भ्रमणका क्रममा पनि यस विषयमा छलफल भएको थियो । भ्रमणका क्रममा काठमाडौंस्थित भारतीय दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा ‘क्वात्राको भ्रमणमा प्रस्तावित काठमाडौं–रक्सौल रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई दु्रत रूपमा अगाडि बढाउने सहमति भएको’ उल्लेख थियो ।परियोजनालाई अघि बढाउने भनिए पनि यसको आर्थिक मोडालिटी र प्रविधिको विषयमा ठोस सहमति हुन सकेको थिएन । क्वात्राले प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा तत्कालीन भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठसँग यस विषयमा छलफल गर्नुभएको थियो ।



















