काठमाण्डौं,नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त हुनुभएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख हुनुहुन्छ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैहुनुहुन्छ । खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो ।
कार्की पहिलो नम्बरका एआईजी हुन्ुहुन्थ्यो । कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्नुहुने छ । उहाँले ०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।उहाँ ०६४ सालमा डीएसपी, ०७४ मा एसपी र ०७९ मा एसएसपी हुनुभएको छ । एसएसपीबाट नै उहाँ आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आउनुभएको थियो । एसएसपी हुँदा काठमाडौँ प्रहरी परिसर प्रमुख हुनुहुन्थ्यो । त्यसबाहेक उहाँले प्रहरी महानिरीक्षकको सचिवालयमै काम गर्नुभएको थियो ।
कार्की ०८१ साल जेठमा डीआईजीमा बढुवा हुनुभएको थियो । डीआईजी भएपछि पनि महानिरीक्षकको सचिवालयमै कार्यरत कार्कीले प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो ।०८२ वैशाखमा उहाँ पहिलो नम्बरमै एआईजीमा बढुवा हुँदा राजन अधिकारी र मनोजकुमार केसी पनि एआईजी भएका थिए । अधिकारी र केसी पनि कार्कीकै ब्याची हुन ।एआईजीमा बढुवा भएपछि प्रहरीको मानव स्रोत विभागमा पदस्थापन भएका कार्कीलाई जेनजी आन्दोलनको क्रममा भदौ २३ गते ठूलो मानवीय क्षति भएपछि २४ गते काठमाडौँ उपत्यका प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको थियो ।उपत्यकाको जिम्मेवारी सम्हालेका कार्कीले आन्दोलनकारीमाथि मानवीय क्षति हुने गरी बल प्रयोग नगर्न बरु हातहतियार, सवारी साधनको साथै कार्यालयका महत्वपूर्ण सामान र आफ्नो सुरक्षामा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको थियो । कार्की २०७० सालतिर बारा प्रहरीको प्रमुखको रुपमा समेत रहनु भएको थियो ।



















