निजगढ,निजगढ ५ सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरमा बिहीवारबाट १ महिने श्रीमद् वितक चर्चा एमं श्री कृष्ण कथा प्रवचन कार्यक्रम शुरु भएको छ ।प्रणामी धर्मको विशेष पर्वको रूपमा रहेको वितक चर्चाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली र मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले उद्धाटन गर्नुभएको थियो । कार्यक्रमको पहिलो दिन निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिाना लगायत सयौं श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।

आगामीभदौ १० गते पर्ने श्रीकृष्ण जन्माष्ठमीसम्म चल्ने सो कार्यक्रममा प्रणामी समाजका प्रखर शास्त्री श्री घनश्याम अधिकारीले प्रवचन दिनुहुने बताइएको छ । श्री कृष्ण प्राकट्य महोत्सवमा भने मन्दिर परिसरबाट रथ यात्रा निकालेर नगर परिक्रममा गरिने मन्दिर व्यवस्थापन समितिका यादवकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।कार्यक्रम अन्तर्गत प्रतेक दिन विहान ११ः३० बजेदेखि दिउँसो ३.३० बजेसम्म प्रवचन र राति भजन, किर्तन तथा अन्य धार्मिक कार्यक्रमहरू आयोजना गरिने तिमल्सिनाले बताउनुभयो । सो अवसरमा सांसद मैनाली र चौधरीले निर्माणाधिन प्रणामी मन्दिरको निरीक्षणसमेत गर्नुभएको थियो ।
















