काठमाण्डौं,श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको समाचार संस्था एएफपीले जनाएको छ ।श्रीलङ्काको केन्द्रीय बैंकले मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५ आधार अङ्कले घटाएको जनाएको छ । श्रीलङ्काले सामना गरिरहेको विदेशी मुद्रा सङ्कटको चरम अवस्थामा सन् २०२२ सेप्टेम्बरमा ७० प्रतिशतको उच्च मूल्यवृद्धिको तुलनामा जुनसम्ममा मूल्यवृद्धि एक दशमलव सात प्रतिशतमा सीमित भएको छ ।
केन्द्रीय बैंकले कठिन परिस्थितिमा आर्थिक गतिविधिको पुनरुत्थानसहित निरन्तरता दिँदै सहज मौद्रिक अवस्था कायम राख्न ब्याजदर घटाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।सन् २०२२ को बाह्य ऋणको पुनर्संरचना गर्ने अन्तिम चरणमा सरकारले यस महिनाको शुरुमा अन्तर्राष्ट्रिय निकायसँग पुनः भुक्तान सम्झौतालाई अन्तिम रूप दिएको थियो ।गएको वर्षको दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आएको बैंकले जनाएको छ । यो वर्षको पहिलो तीन महिनामा ५ दशमलव ४ प्रतिशतले आर्थिक वृद्धि भएको छ ।



















