बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर ३ धनसार सिँचाइको बाँधमा च्यानलाइज ड्यामको निर्माण कार्य सुरु भएको छ ।
नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले डोजरको पूजा गरेर च्यानलाइज ड्यामको निर्माण कार्यको मंगलवार उद्धाटन गरेका हुन ।ड्यामको उद्धाटनअघि नगर प्रमुख पुरी र उपप्रमुख थिङ्गले च्यानलाइज गर्ने स्थान र त्यसबाट पर्ने प्रभावको बारेमा बुझ्न सो क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । ड्याम उद्धाटन कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, वडा सदस्य जीतबहादुर लोप्चन, स्थानीय समाजसेवी बिजय योन्जन, नगर कार्यपालिकाका सदस्य र स्थानीयको उपस्थिति रहेको थियो ।मधेस प्रदेश सरकारको २० लाख बजेटमा सिंगौलका स्थानीयले सिँचाइको लागि प्रयोग गर्दैआएको कच्ची बाँध नजिक सो च्यानलाइज ड्याम निर्माण हुन लागेको हो । मधेस प्रदेशको आर्थिक सहयोगमा २५० मिटर लम्बाइको सो ड्यामको निर्माण कार्य सम्पन्न भएपछि सो क्षेत्रमा वर्षायाममा हुने नदी कटान, बाढी र सिँचाइ बाँध बगाउने समस्या रोकिने धनसार खोला तटवन्धन समितिका अध्यक्ष टुल्कु लामा दोङले बताउनुभएको छ ।सोही स्थानमा मधेस प्रदेश सरकारकै ८० लाख रुपैयाको सहयोगमा सिँचाइको.निम्ति पक्की बाँध पनि निर्माण गरिने स्थानीय सुकराम जिम्बाले बताउनुभएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजन गरेको बजेटबाट पक्की बाँध र च्यानलाइज ड्याम योजना संचालन हुन लागेको जिम्बाले जानकारी दिनुभएको छ ।धनसार नदीमा व्यवस्थित ड्याम र सिँचाइको लागि पक्की बाँध नहुँदा सिगौलका स्थानीयले बाढी र नदी कटानसहित कृषि कार्यमा समस्या बेहोदैआएका थिए । ‘च्यानलाइज ड्यामले नदी कटान र बाढी नियन्त्रण र पक्की बाँध निर्माणपछि सिँचाइको समस्या पनि अन्त्य हुनेछ ।’ जिम्बाले भन्नुभयो ।धनसार नदीमा व्यवस्थित ड्याम नहुँदा खोलाको बाढीले. वडा नम्बर ३ को पिपलटार नदी कटानको जोखिममा पर्दैआएको थियो भने पक्की बाँधसहितको सिँचाइ अभावमा सिंगौलका अधिकांश किसानले समस्या भोग्दैआएका छन । स्थानीयको आग्रहमा अनुगमनमा केही समय सिंगौल आउनुभएका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दुबै आयोजना निर्माणमा सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिमल्सिना, युवा समाजसेवी सुकराम जिम्बा (ज्ञानु ) को पहलमा मुख्यमन्त्री यादवले च्यानलाइज ड्याम र सिँचाइको पक्की बाँध निर्माणमा सहयोग गर्नुभएको बताइएको छ ।

Leave a Reply