जनकपुरधाम,मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनल नियुक्त हुनुभएको छ ।नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।सोनलले आफ्नो नेतृत्वमा पाँच दलीय गठबन्धनसहितको दाबी पेस गरेका थिए । अब मधेस प्रदेशमा जसपा नेपाल, लोसपा, नेकपा एस, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गठबन्धनको सरकार भएको छ ।

नियुक्ति पत्र बुझ्दै मुख्यमन्त्री सोनलले जेनजी आन्दोलन पछि शून्यतामा पुगेको प्रदेशमा सुशासन कायम गर्न काम गर्ने बताउनुभयो । उहाँले गठबन्धनका पाँच वटै दल मिलाएर अहिलेका लागि सानो मन्त्रिमण्डल विस्तार गर्ने जानकारी पनि दिनुभयो ।मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि यसअघि बनेको दलहरुको समीकरण फेरिएपछि लोसपा उपाध्यक्ष सोनल मुख्यमन्त्री बन्नुभएको हो ।

यसअघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव र सोनलले प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी गरेका थिए ।कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले कांग्रेस संसदीय दलका नेता यादव र लोसपा, जनता समाजवादी पार्टी (जसपा,) जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एस) सहितका पाँच दलले सोनलको पक्षमा हस्ताक्षर गरेपछि दुबै जनाले मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । यादवको पक्षमा ५८ सांसदको समर्थन रहेको थियो भने सोनलको पक्षमा ५६ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्षर गरेका थिए ।जनमत पार्टीका सांसदहरुले यादव र सोनलको पक्षमा पनि हस्ताक्षर गरेकाले दुबैले सरकार गठनको लागि आवश्यक संख्यासहित दाबी पेस गरेका हुन ।

यसअघि नेकपा एमाले, नेपाली कांग्रेसको गठबन्धनमा नयाँ सरकार गठन गर्न हस्ताक्षर गरेका जनमत पार्टीका सांसदहरुले पूर्वसहमति विपरित सोनलको पक्षमा हस्ताक्षर गरेपछि सरकार गठनमा ५ दलको तर्फबाट नयाँ पहल सुरु भएको थियो ।बुधवार दिउसो जनमत पार्टीले मुख्यमन्त्रीमा सोनललाई आफ्नो समर्थन रहेको आधिकारिक निर्णय गरेको थियो । सो पार्टीका मधेस प्रदेशका संसदीय दलका नेता महेश यादवले प्रदेश प्रमुख सुवेदीलाई पत्र पठाउँदै यस्तो बताउनुभएको हो ।

कांग्रेसले पनि जनमतका सांसदहरुको हस्ताक्षरसहित दाबी पेस गरेपछि संसदीय दलको तर्फबाट सोनलको पक्षमा आधिकारिक निर्णय गरेको थियो ।गत असोज २२ गते कांग्रेस संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार बनाउन जनमत पार्टीका १३ जनासहितका कांग्रेस, एमालेका सदस्यहरुले हस्ताक्षर गरेर प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए । त्यतिबेला कांग्रेस, एमाले र जनमत पार्टी गठबन्धनको सरकार बनाउने लगभग तय भइसकेको थियो ।
तर सिंहले मंगलवार राजीनामा दिएसंगै प्रदेश प्रमुख सुवेदीले सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि सोनललाई मुख्यमन्त्री बनाउन पाँच दलीय गठबन्धनको तर्फबाट ५६ जनाको हस्ताक्षर बुझाएका थिए ।
कांग्रेस, एमालेले भने असोज २२ गते प्रदेश प्रमुखलाई बुझाएको पत्र नै आधिकारिक भएको कांग्रेसले दाबी गरेपछि जनमत पार्टीले सोनलको पक्षमा गरिएको समर्थन नै पार्टीको आधिकारिक भएको संसदीय दलका नेता यादवले बताउनुभएको थियो ।

मधेश प्रदेश सभामा सहभागी दस दलका १०७ जना प्रदेश सभासदस्यहरु छन् । एमालेको २५, कांग्रेसको २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमतको १३, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीको ९÷९ै जना छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना छन् ।

Leave a Reply