काठमाण्डौ – सत्तारुढ मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउन सहमति भएको छ ।दुई दलको कार्यदलले आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार लगायतका क्षेत्रमा केन्द्रित भएर ‘बीआरआई सहकार्य फ्रेमवर्क’को मस्यौदा टुङ्गो लगाएको हो । चीनले प्रस्ताव गरेको ‘बीआरआई कार्यक्रम कार्यान्वयन सम्झौता’ मस्यौदामा परिवर्तन गर्दै कार्यदलले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राख्ने सहमति गरेको नेताहरुले बताएका छन् ।

मस्यौदामा नेपालले अनुदानमात्र स्वीकार गर्ने र त्यो पनि नेपालको आवश्यक र राष्ट्रिय आवश्यकतामा निहीत हुने उल्लेख छ । मस्यौदामा चीनले अघि बढाएको बीआरआई र नेपालले सात वर्षअघि हस्ताक्षर गरेको बीआरआई समझदारी पत्रमा उल्लेख गरिएको भन्दा पनि कुनै विशेष क्षेत्रहरुमा सहकार्य फ्रेमवर्क गर्नुपर्ने उल्लेख छ । चीनसँग प्रस्ताव गरिने पूर्वाधार, शहरी विकास र कनेक्टिभिटीसँग सम्बन्धित एक दर्जन परियोजनाको सूचीसमेत तय भएको छ ।

नेपालले चीनसँग टोखा– खहरे सुरुङमार्ग, हिल्सा– सिमकोट सडक, किमाथाङ्का– खाँदबारी सडक र पुल, जिलोङ– केरुङ– काठमाण्डौ सीमापार रेलमार्ग, काठमाण्डौ– हेटौँडा पोडवे, अमरगढी सिटी हल, जिलोङ– केरुङ– रसुवागढी चिलिमे प्रसारण लाइन, काठमाण्डौ उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाण्डौ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, चीन– नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्टस् एन्ड एथलेटिक्स कम्प्लेक्स परियोजना प्रस्ताव गर्ने तयारी छ ।

यसअघि चीनले बीआरआई कार्यान्यवयन योजनामा सहकार्यका लागि कनेक्टिभिटी, कृषि, शिक्षा, स्वास्थ्य, आर्थिक सहकार्य, मानवस्रोत विकास, सांस्कृतिक आदान प्रदान, उद्योग तथा वाणिज्य, भन्सार नाकाहरुको क्षमता अभिवृद्धि, चिनियाँ बैंकहरूको नेपालमा शाखा खोल्ने लगायत विषयमा प्रस्ताव गरेको थियो ।दुई दलको कार्यदलले मस्यौदा तयार पारेर शुक्रवार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नेपाली पक्षले तयार पारेको मस्यौदामा चीनले सहमति जनाएमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओली सोमवार चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।
‘बीआरआई अनुदानमा अघि बढाउन चीन सकारात्मक’
काठमाण्डौ – परराष्ट्रमन्त्री डा. आरजु राणाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताउनुभएको छ । चीन भ्रमण सकेर स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआईअन्तर्गतका योजनाहरु अनुदानका रूपमा अघि बढाउन चीन सकारात्मक रहेको पाएको बताउनुभएको हो ।

देशभित्रको परिस्थितिका कारण नेपाल ऋण लिनसक्ने परिस्थितिमा नरहेको कुरा आफूले प्रश्टसँग राखेको र चीन सरकारले आफूहरु आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवम् नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेण्डाहरु ल्याउन आग्रह गरेको उहाँले बताउनुभयो । उहाँले चिनियाँ परियोजना, बिआरआईको कार्यान्वयन योजना दुवै देशको सहमति र नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुने बताउनुभयो ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अस्ति बिहिवार चीन गएकी राणाले हिजो चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि चीन जानुभएको हो । उहाँ फेरि सोमवार प्रधानमन्त्री ओलीसँगै चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा सहभागी हुने उहाँ एक मात्रै मन्त्री हुनुहुन्छ ।

Leave a Reply