नविन चौधरी
वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४७ लाखभन्दा बढी मूल्य बराबरको सामाग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।
बिलविजकभन्दा बढी सामग्री बोकेको सूचनाका आधारमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर सडकखण्डबाट सामग्री बरामद गरेको हो ।
चेकजाँचको क्रममा बिलबिजक शंकास्पद देखिएपछि ना.२ ख ९००४ नम्बरको मालवाहक ट्रकबाट ४७ लाख २४ हजार ८ सय ९० रुपैयाँ बराबरको लत्ताकपडा तथा खुद्रा सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिनुभयो ।
डिएसपी गिरीका अनुसार बरामद सामग्रीलाई ट्रकसहित आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।


















