सिमरा,सिमरास्थित रेडियो समर्पणले नवौं वार्षिकोत्सवको अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्थानीय ९ जना व्यक्तित्वलाई सम्मान गरेको छ । सिमरास्थित बिजनेस सेन्टरमा आइतवार बिहान आयोजित कार्यक्रममा रेडियोले जीतपुरसिमरा उपमहानगरपालिकाभित्र विभिन्न क्षेत्रका ९ जना व्यक्तित्वलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा कला साहित्यतर्फ मुकुन्दप्रसाद उपाध्याय, शिक्षा क्षेत्रतर्फ मदनबहादुर क्षेत्री, स्वास्थ्यतर्फ पहिलो महिला स्वास्थ्य स्वयंसेवीका बिमला थसिनेकु, लागुऔषध दुव्र्यसनी विरुद्धको अभियान्तातर्फ नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामा, युवा व्यवसायीतर्फ युआर गोल्ड प्रिमियम मसाला चियाका संचालक उमेश चौलागाई, खेलकुदतर्फ पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी आनन्दीप्रसाद चौधरी, कृषितर्फ शरण अवस्थी, संचारकर्मीतर्फ गम्भिरा सहनी र उत्कृष्ट विज्ञापनदाताको रुपमा प्राणनाथ हार्डवेयरका संचालक ईश्वर श्रेष्ठ रहेका छन् ।
नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले उनीहरुलाई सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिना, वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल, युवा व्यवसायी सुदीप रिमाललगायतको उपस्थिति रहेको थियो ।
रेडियोका निर्देशक राजन उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवन्ध निर्देशक प्रदीप गौतमले गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा रेडियोले सम्मानसहित सांस्कृतिक र तीज गीत तथा नृत्य प्रतियोगिताको आयोजना गरेको थियो ।


















