निजगढ,निजगढ नगरपालिकामा युएनडिपीको सहयोगमा केराको थामबाट फाइबर बनाउने तालिम शुरु भएको छ ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले मंगलवार एक कार्यक्रमबीच निजगढ ८ स्थित पुरानो कृषि भवनमा मेसिन चलाएर तालिमको उद्धाटन गर्नुभएको हो ।

किसानको खेतमा खेर गइरहेको केराको थामको फाइबरबाट सामग्री उत्पादन गरेर स्थानीयको रोजगारी र आयआर्जन वृद्धि गर्ने उद्देश्यले युएनडिपी र हेल्बेटास नेपालको सहयोगमा नगरपालिकामा संचालन हुन लागेको उद्योगको पहिलो चरणमा तालिम कार्यक्रमको आयोजना गरिएको हो । ५ दिनसम्म चल्ने सो तालिमका २३ जना सहभागीहरुलाई थामबाट रेसा निकाल्ने, त्यसको फिनिसिङ्ग गर्ने, धागो बनाउने र तानमा राख्ने जस्ता सीप प्रदान गरिने बताइएको छ ।
कार्यक्रम अन्तरगत नगरपालिकाले तालिम संचालन गर्ने स्थान र सहभागीको व्यवस्था गरेको हो भने युएनडिपीले हालको लागि रेशा उत्पादन गर्ने ४ थान मेसिन र संचालन गर्ने तालिम उपलब्ध गराएको छ ।
त्यसैगरी हेल्बेटासले रेशाबाट सामग्री उत्पादन र त्यसको बजारीकरणमा सहयोग गर्ने संझौता भएको नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो ।उद्धाटन कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल लगायतको सहभागिता रहेको थियो ।


















