दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिकालाई आइतवार एक कार्यक्रमको बीच पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।गाँउपालिकाभित्रका १५ महिनादेखि ५९ महिना उमेरभित्रका बालबालिकाले पाउनुपर्ने सबै खोप प्राप्त गरेपछि आवश्यक प्रक्रिया पूरा गरेर करैयामाई गाउँपालिकालाई अध्यक्ष शम्भुप्रसाद यादवले पूर्णखोप सुनिश्चिता पालिका घोषणा गर्नुभएको हो ।गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकाभित्र रहेका स्वास्थ्य चौकीका प्रमुखहरु, स्वास्थ्यकर्मीहरु र संञ्चारकर्मीहरुको विशेष उपस्थितिमा भएको सो कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महतो वडा नम्बर १ का वडा अध्यक्ष सोनाला साह वडा नम्बर ५ का वडा अध्यक्ष उमेशप्रसाद चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष दिनेशप्रसाद चौधरीलगायत वक्ताहरुले कार्यक्रमको महत्व बारेमा बोल्नुभएको थियो ।
करैयास्थित गाउँपालिकाको सभा हलमा भएको सो कार्यक्रमको संञ्चालन गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख अमरेन्द्रकुमार गुप्ताले गर्नुभएको थियो ।

















