निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ स्थित भ्याकुर टोलमा नेपालका प्रथम शहिद लखन थापाको शालिक स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।नेत्रोदय माविको प्राङ्गणअगाडि रहेको योजना टोल चौतारामा निर्माण भइरहेको शहिद थापाको शालिक बनाउने कार्य पूरा भएको र अब रंगरोगन गर्ने कार्य मात्रै बाँकी रहेको निजगढ नगरपालिका वडा नम्बर ७ का वडा सदस्य दिलबहादुर पुलामी मगरले जानकारी दिनुभयो ।

शालिकमा रंगरोगन पूरा भएपछि केही दिनभित्र अनावरण गरिने उहाँले बताउनुभयो ।स्थानीय दाताहरुको आर्थिक सहयोगमा बाहिरबाट कालिगढ बोलाएर शहिद थापाको पूर्णकदको शालिक निर्मांण गरिएको हो । स्थानीय समाजसेवी खड्गबहादुर आले मगरको अध्यक्षतामा गठन भएको निर्माण समितिमार्फत सालिक निर्माण गरेर राख्न लागिएको हो । समितिको सचिवमा बाबुराम थापा र कोषाध्यक्षमा नेत्रबहादुर पुलामी मगर रहनुभएको छ ।

राना प्रधानमन्त्री जंगबहादुरले नेपालको शासन सत्ता हातमा लिएपछि विद्राहामा उत्रिनुभएका शहिद लखन थापाको हत्या गरिएको थियो । गार्खामा जन्मिनुभएका थापालाई सरकाले पहिलो शहिद घोषणा गरेको छ ।यसैबीच शहीद लखन थापा मगरको तस्वीर निजगढस्थित सरकारी र गैह्सरकारी कार्यालयहरुमा राख्ने अभियान पनि शुरु गरिएको छ । वडा समिति सदस्य पुलामीको पहलमा शुरु भएको सो अभियान अन्तरगत निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गको कार्यकक्षमा तस्वीर राखिएको छ भने पालिकाका अन्य वडा कार्यालयहरुमा राख्ने बारेमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । हाल नगरपालिका कार्यालयबाट शुरु गरिएको यो अभियान आगामी दिनमा नगरका अन्य कार्यालयहरुमा पनि विस्तार गरिने सदस्य पुलामी जानकारी दिनुभयो ।नगरपालिका कार्यालयले गत मंगलवार आयोजना गरेको १६औं गणतन्त्र दिवस कार्यक्रममा अन्य शहीदसंगै थापाको पनि तस्वीर राखेर सलामी दिनुको साथै माल्यापर्ण गरेको थियो ।राणा प्रधानमन्त्री जंगबहादुर थापाविरुद्ध विद्रोह गर्नेक्रममा सन १८५७ मई १० मा हत्या गरिएका थापा नेपालका प्रथम शहिद हुनुहुन्छ । उहाँको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नम्बर ४) मा भएको थियो ।

Leave a Reply