सिमरा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको दुई वटा भवनको सोमवार उद्घाटन गरिएको छ । भवनको मधेस प्रदेशसभा सदस्य रवीन्द्रदास श्रेष्ठ र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गरेका हुन् ।श्रेष्ठले तराई मधेस समृद्धि कार्यक्रम र पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण भएको भवनको उद्घाटन गरेका थिए । विद्यालय परिसरमा निर्माण भएको उक्त दुवै भवनमा चार कोठा छन् ।
कृषी प्राविधिक शिक्षालय समेत रहेको उक्त विद्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेस प्रदेशसभा सदस्य श्रेष्ठले आगामी वर्ष सुविधासम्पन्न हल निर्माणका लागि आफूले बजेट विनियोजनसहित योजनालाई प्राथमिकतामा राख्ने बताउनुभयो । फरक प्रशंगमा श्रेष्ठले जसपा नेपाल नेतृत्वको वर्तमान सरकार परिवर्तन नभएसम्म मधेस प्रदेशको विकासले गति लिन नसक्ने भन्दै छिट्टै अर्को सरकार बन्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख पौडेलले उपमहानगरपालिकाभित्र शैक्षिक सुधारका लागि तीव्र गतिमा प्रयास भईरहेको भन्दै हातेमालो गर्न आग्रह गर्नुभयो । शिक्षा क्षेत्रमा पछिल्लो समय सुधारको संकेत देखिएको भन्दै पौडेलले यसलाई अझै सुधार गरेर अघि बढ्न उपमहानगरपालिका लागिपरेको बताउनुभयो ।उपमहानगरपालिकाको मापदण्ड विपरित मधेस प्रदेशको योजनाबाट सडक र बाटो निर्माण भईरहेको भन्दै पौडेलले मधेस प्रदेशसभामा उक्त आवाज उठाउन प्रदेशसभा श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चयन गुरुङले विद्यालयको भौतिक पुर्वाधारसंगै शैक्षिक स्तर सुधारमा समेत आफूहरुले ध्यान दिईरहेको बताउनुभयो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, पूर्ववडाध्यक्ष रामशरण बर्तौलासहित वर्तमान जनप्रतिनिधि, विद्यालयका प्रध्यानाध्यापक राजु अधिकारीलगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।


















