नेपाल कृषि प्रधान देश हो तर पनि कयौं खाद्यबालीमा नेपाल परनिर्भर छ । नेपालमा सबैभन्दा धेरै उत्पादन हुने धानमा समेत नेपाल परनिर्भर छ ।तैपनि नेपाली कृषकहले खेती गर्न छाडेका छैनन् र छाड्ने कुरा पनि भएन । खेतीबाट मात्रै राम्रो कमाइ र आत्मनिर्भर नभएपछि नेपालका कृषकहरुले पछिल्ला दिनमा वैकल्पिक खेती पनि गर्ने गरेका छन् । वैकल्पिक खेतीतर्फ कृषकहरुको आकर्षण भए पनि सरकारले प्रोत्साहन गर्न सकेको देखिदैन ।
नेपालका हरेक तहका सरकारले कृषकहरुका लागि जस्तो सुकै नीति ल्याउन पनि आफूहरु तयार रहेको र आफ्नो नीति तथा कार्यक्रम अनि बजेट नै कृषकमैत्री भएको दाबी गरे पनि व्यवहारमा भने त्यस्तो देखिदैन । बरु कृषकको नाउँमा यिनकै नजिकका व्यक्तिहरुले बढी फाइदा लिएको देखिन्छ ।नेपालमा भएका तीनै तहका सरकारहरुले कृषकहरुका लागि ल्याएको भनिएको नीति कृषकमैत्री छदैछैन ।
बाराको निजगढमा रहेका कृषकहरुले विगत केही वषौंदेखि व्यवसायिक रुपमा केरा खेती गरिरहेका छन् । केरा, आम्दानीका हिसावले राम्रो फलफूल हो र मानिसको स्वास्थ्यका हिसावले पनि निकै राम्रो हो तर नेपाली किसानले उत्पादन गरेको केराले बजार पाउन सकेको छैन उल्टै केरा बेचेर भारतीयहरुले नेपाली पैसा लगिरहेका छन् । कम्तीमा निजगढका कृषकहरुले उत्पादन गरेको केराको बजारीकरणको जिम्मा लिनेतर्फ स्थानीय सरकारले चासो देखाउनसक्यो भने चाही एकदमै उत्तम हुनेछ ।















