बसन्त लामा
सिंगौल,वन डढेलोले पाइप जलेपछि निजगढ नगरपालिका वडा नम्बर २ र ३ सिंगौलमा खानेपानीको अभाव भएको छ ।
सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वितरण हुदै आएको खानेपानीको पाइप डढेलोबाट जलेपछि उपभोक्तले पिउने पानीको समस्या बेहोर्नु परेको हो ।बगर खोलाको पानी ल्याउन प्रयोग गरिएको पाइप सामुदायिक वनमा लागेको डढेलो सल्केर गत मंगलवार जलेर नष्ट भएको हो ।

डिप वोरीङबाट निकालिएको पानी पर्याप्त नभएपछि सिंगौलका स्थानीयले मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ थाकलाचौरस्थित बगर खोलाको पानी पाइपबाट ल्याएर प्रयोग गर्दै आएका थिए । डढेलोको कारण सो पाइप पनि जलेर पानी अवरुद्ध बनेपछि उपभोक्ताहरुलाई पिउने पानीको हाहाकार भएको हो ।लामो समयसम्म खडेरी परेकोले खोलाको मुहान सुक्ने समस्याले सिंगौलमा खानेपानीको समस्या निम्तिएको हो।खोलाबाट ल्याएको पानीको पाइपमा डढेलोले क्षति पुगेको र यहाँ सञ्चालनमा रहेको डिप वोरीङबाटसमेत पानी कम निस्कन थालेपछि सिंगौलका उपभोक्ता खानेपानीको अभाव बेहोर्न बाध्य बनेका छन ।

सिंगौलमा अन्य विकासका कार्यले गति लिए पनि हालसम्म स्वच्छ खानेपानी वितरणका लागि प्रभावकारी कार्य हुनसकेको छैन । सिंगौलबासीले हरेक वर्ष सुख्खायामको चैत र वैशाख महिनामा खानेपानीको समस्याको साथै सिँचाईको पनि समस्या झेल्दै आइरहेका छन् । लामो खडेरीको कारण धनसार खोलाको पानीको मुहान सुक्दै जाने गरेकोले सिँचाईमा समेत समस्या झेल्नु परेको स्थानीयको गुनासो छ ।

भरपर्दो सिंँचाइको अभावमा स्थानीय किसानले लगाएको मकै, केरा र बर्खे धान बालीको बोट सुकेर मर्ने अवस्थामा पुगेका छन् । सुकेको मकैको बोट काटेर घरपालुवा जनवारलाई खुवाउन किसान बाध्य भएका छन् ।जेठको अन्त्यतिर बजार जाने गरी तयार हुने केरा सिँचाईको अभावमा बीचबाटै भाँचिएर ढल्ने समस्या देखिने गरेको छ । बिक्रीका लागि तयार हुनु लागेको केरा बिचबाट भाँचिएर ढल्दा सिंगौलका स्थानीयले वर्षेनी लाखौ क्षति बेहोर्नु परेको स्थानीय किसान रामलाल थोकर गुनासो गर्नुहुन्छ ।सिँचाईको लागि धनसार खोलाको पानी प्रयाप्त नभएपछि सिंगोलमा सिँचाईको लागि पनि डिप वोरीङ प्रयोगमा ल्याउन खोजिएको छ । तर डिप वोरीङ निर्माण भएको वर्षैसम्म सञ्चालनमा आउन नसक्दा खानेपानी जस्तै सिँचाईको समस्या पनि विकराल बन्दै गइरहेको हो ।

Leave a Reply