पुष्पराज खतिवडा
मनहर्वा,प्रहरीले २१६ केजी लागु औषधा गाँजासहित एउटा ट्रक र दुईजना मानिसलाई सोमवार राती पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्रकका चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोला घरभई बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३२ बर्वाका दिपक कोइराला र ट्रकमा सवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीका ३० वर्षे जीवन घलान रहेका छन् ।

उनीहरुलाई निजगढ नगरपालिका वडा नम्बर १० लाल रतनपुरबाट निजगढतर्फ आउदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रक चेकजाँचका क्रममा अस्थायी प्रहरी पोष्ट रतनपुरको प्रहरी टोलीले गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका ट्रकका चालक कोइराला र घलान विरुद्ध लागु औषध मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

बारा प्रहरीले चालु आर्थिक वर्षमा मात्रै १ हजार २०८ केजी ७३ ग्राम लागू औषध गाँजा बरामद गरेको जनाएको छ । यस सम्बन्धी कारबाहीमा ५८ जनालाई नियन्त्रणमा लिई ४२ मुद्दा दर्ता भएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै प्रहरीले यस अवधिमा हुण्डी कारोबारमा स्रोत नखुलेको ३८ लाख ९ हजार नेपाली रुपैंया समेत बरामद गरी ३ जना भारतीय नागरिक सहित ८ जना विरुद्ध ४ वटा मद्दा दर्ता गरेको जनाएको छ ।

यसैगरी यसै अवधिमा प्रहरीले ४८ करोड ४१ लाख ५४ हजार ८५७ रुपैंया बारबरको अबैध निकासी पैठारीका सवारी तथा सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय वीरगञ्जमा बुझाएको र २० जना मानिसलाई पक्राउ गरेको डिएसपी न्यौपानले बताउनुभयो ।

Leave a Reply