कलैया,नक्कली भ्याट बिल बनाएर २८ करोड राजश्व छलेको आरोप लागेका बाराको परवानीपुरका उमाशंकर रायभर निर्दोष सावित हुनुभएको छ । उच्च अदालत पाटनबाट उमाशंकरले सफाइ पाउनुभएको हो ।न्यायाधिश दीपेन्द्र अधिकारी र डिल्लीरत्न श्रेष्ठको इजलासले उमाशंकरलाई सफाइ दिएका हुन् । यसअघि उक्त अभियोगमा उमाशंकरले ११ महिना कारागारमा बस्नु परेको थियो ।

परवानीपुर घर भएका उमाशंकरको नेपाली नागरिकताको प्रमाण पत्रसहितका कागजात दुरुपयोग गर्दै केही व्यक्तिले नक्कली भ्याट बिल बनाउने र राजश्व छली गर्ने काम गरेका थिए । उमाशंकरकै नागरिकतासहित कागजात प्रयोग भएको र आफ्नै नाममा रहेको कम्पनीमार्फत उक्त घटना भएको देखिएपछि पक्राउ पर्नुभएको थियो ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका उमाशंकर झुपडीमा बसेर दिन गुजारिरहेका थिए । तर उहाँलाई सो घटनाको विषयमा कुनै जानकारी नै थिएन । निर्दोष उमाशंकरको नागरिकता प्रयोग गरेर उक्त कार्य अर्कैले गरेको पुष्टि भएपछि उहाँले तिन वर्षपछि सफाइ पाउनुभएको हो । उमाशंकरको तर्फबाट अधिवक्ता राधिका खतिवडाले निःशुल्क बहस गर्नुभएको थियो ।

उमाशंकरसंग उच्च अदालतले २०७७ साल पुषमा ७५ लाख धरौटी माग गरेको थियो । तर ठुलो रकम बुझाउन नसकेपछि कारागार चलान हुनुपरेको थियो ।संलग्नता नै नभएको घटनामा उमाशंकर जेल बस्नुपरेपछि सर्वोच्च अदालतले २०७८ माघमा धरौटी रकम २५ हजार बनाएको थियो । त्यसलगत्तै २५ हजार बुझाएर जेलमुक्त भएका उमाशंकर दुई वर्षपछि निर्दोष सावित हुनुभएको हो ।

Leave a Reply