निजगढ,निजगढमा शनिवार सम्पन्न तेस्रो मधेस प्रदेश शुल्ला तेक्वाण्डो प्रतियोगितामा आयोजक जनज्योति तेक्वाण्डो डोजाङ्ग निजगढ ९ ले ८ वटा स्वर्णसहित २४ पदक जितेर ट्रफी हात पारेको छ ।जनज्योतिले ८ स्वर्ण, ८ रजत र ८ कास्य पदक जित्दै पहिलो बनेर प्रतियोगिताको ट्रफी हात पारेको हो । त्यसैगरी प्रतियोगितामा क्रियटिभ तेक्वाण्डो डोजाङ्ग बर्दिवास ४ स्वर्ण जितेर दोस्रो र प्रिया तेक्वाण्डो डोजाङ्ग जनकपुर १ स्वर्ण, १ रजत र ८ कास्यसहित १० वटा पदक जितेर तेस्रो भएको छ ।
त्यसैगरी नमूना तेक्वाण्डो डोजाङ्ग रौतहट चन्द्रपुर र मैत्री तेक्वाण्डो डोजाङ्ग बर्दिवासले १÷१ स्वर्ण पदक जितेका छन । प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिंगौल डोजाङ्गले ३ रजत र गोरखा डोजाङ्गले २ तथा न्यू हरिवन तेक्वाण्डो डोजाङ्ग हरिवनले १ कास्य पदक जितेको छ ।प्रतियोगिताका विजयी टोली र खेलाडीहरुलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरपािलकाले तेक्वाण्डो खेलको विकासको लागि पर्याप्त लगानी गर्दैआएको बताउनुभयो ।निजगढ ९ स्थित जनज्योति आधारभूत विद्यालयमा २ दिनसम्म चलेको सो प्रतियोगितामा मधेस प्रदेशका विभिन्न जिल्लाका ९ वटा डोजाङ्गबाट १६ तौल समूहका १२० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।आयोजनक जनज्योति आधारभूत विद्यालय डोजाङ्गका प्रमुख राजु माझीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख पुरीसहित नेपाल तेक्वाण्डो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, जिल्ला खेलकुद समितिका प्रमुख एंंवम तेक्वाण्डो प्रशिक्षक हेमलाल श्रेष्ठ, प्रशिक्षक मानध्वज लामा, निजगढ नगरपालिका वडा नम्बर ९ की कार्यवहाक वडा अध्यक्ष बबिता श्रेष्ठ, वडा सदस्य चित्रप्रसाद चौलगाई, इन्द्रकुमारी सुनार र विद्यालयका प्रअ मनराज महतरालगायतको उपस्थिति रहेको थियो ।