वीरगञ्ज,
चुरे तथा वन जंगल संरक्षण अभियानले वीरगञ्जमा प्रदर्शन गरेको छ । चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईन मानिने सिरहा र सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा अनियमित तरिकाले चुरे पहाडको विनाश गर्दै आएकोभन्दै अभियानले विरोध प्रदर्शन गरेको हो ।
‘चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारेज गर, राष्ट्रिय स्वधिनता कायम गर’ जस्ता नारा लगाउँदै सहभागीहरुले प्रदर्शन गरेका हुन् । वीरगञ्जको घण्टाघरबाट सुरु भएको जुलुश नगर परिक्रमा गरी पुनः घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले चुरे उत्खन्न गरी विनाश गर्ने कार्य कदापि सह्य नहुने बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर नेपालीमाथि जबरजस्ती ऋण थोपरेको, र चिनको रणनितिक योजना अन्तर्गत नेपाललाई आफ्नो जालोमा फसाउँदै आएको उहाँको आरोप छ ।
केही दिनअगाडि भिडिजन वन कार्यालय सिराहाले अवैध रुपमा उत्खन्न गर्दै आएका चिनिया कम्पनी (श्री चाईना रेल वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि. काठमाण्डौ) को स्काभेटर, टिपर तथा चिनिया नागरिक पक्राउ गरेको थियो । सोही विषयमा जिल्ला अदालत सिराहाले मुद्दा चलाएको छ ।

तराई मधेशमा चिनिया विस्तारवादी विरुद्ध सदैव अभियान जारी राख्ने र मधेसलाई मरुभूमीकरण हुनबाट जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।अभियानका अर्का अभियान्ता चन्द्रप्रकाश सुवेदीले चिनिया विस्तारवाद र चिनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको भन्दै आक्रोश पोख्नुभयो । चिनिया कम्पनीले देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको उहाँको भनाई छ ।

नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तराष्ट्रिय विमान स्थल, महेन्द्र राजमार्ग लगायतका क्षेत्रको विकासको नाममा चुरे दोहन भइरहेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
कार्यक्रममा अभियान्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाल लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

Leave a Reply