सिमरा,जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमवार ए डिभिजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा सोमवार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछन् । दुबै टिम उपाधि जित्दै वर्ष ०८१ को सुखद शुरुवात गर्न चाहन्छन् ।
पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो भने मच्छिन्द्र पहिलो पटक उपाधि नजिक पुगेको हो । यसअघि छैठौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिस त्रिभुवन आर्मी क्लबसंग २–० ले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो ।
यता मछिन्द्र भने चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो । मनाङ मस्र्याङ्दी क्लबसंग १–० ले पराजित भएर फर्किएको मच्छिन्द्र १० वर्षपछि प्रतियोगिता खेल्न सिमरा आएको हो ।अघिल्लो साता बिराट गोल्डकपको उपाधि लिएर सिमरा आएको मच्छिन्द्र मोफसलमा हुने प्रतियोगिताको चौथो उापधि हात पार्ने लक्ष्य सहित मैदानमा उत्रदै छ ।
०८० मा आयोजना भएका मोफसलकै प्रतियोगितालाई लक्षित गरि चर्चित खेलाडीहरुलाई टिममा अनुबन्धन गरेको मच्छिन्द्रले बिराटसहित मकवानपुरको बागमती गोल्डकप र काठमाडौंमा भएको केपी ओली कपको उपाधि जितेको थियो ।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं, मोफसलकै प्रतियोगितालाई लक्षित गरि टिम निर्माण गरिएको छ ।’ न्यौपानेले भने ।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफूहरु बर्षको दोश्रो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताए । वर्ष ०८० को शुरुवातमा वीरगञ्ज गोल्डकपको उपाधि जितेको पुलिस क्लब अघिल्लो साता प्रथम कपिलबस्तु तिलौराकोट गोल्डकपको फाइनलमा पराजित भएको थियो ।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले बर्ष ०८० मा पुलिसका युवा खेलाडी सम्मिलित टोलीले मोफसलका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेको बताउँदै जीतपुरसिमरा गोल्डकपको उपाधिसहित वर्ष ०८१ को शुरुवातका लागि आफूहरु उत्साहित रहेको बताए । ‘हाम्रा उर्जावान युवाशक्तिले यस वर्ष सिमरा रङ्गशालामा इतिहास रच्नेमा विश्वस्त छु ।’ प्रशिक्षक घिमीरेले भने ।
पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ । दोहोरो पहेलो कार्डका कारण शिशिरले फाइनल खेल्न पाउने छैनन् । शिशिरले एपीएफविरुद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लियर गर्दै टिमलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
यता स्टार खेलाडी बिमल घर्तिमगर, मनिष डांगी सम्मिलित मछिन्द्रको टिममा भने कुनै परिवर्तन हुने छैन । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आयुष घलान टिममा थपिने सम्भावना रहेपनि निश्चित भने नभएको जानकारी दिनुभयो ।
यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमलाई उपाधिको दावेदारको रुपमा हेरिएको छ ।
मच्छिन्द्रले आफनो पहिलो खेलमा त्रिभुवन आर्मी फुटवल क्लबलाई १–० र सेमिफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
पुलिसले भने क्वार्टरफाईनलमा आयोजक सिमरालाई २–१ र सेमिफाईनलमा विभागीय टिम एपिएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधि होडमा उभ्याएको हो ।
सिमरा रङ्गशालामा आइतवार विहान भएको पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ र पुलिसका कप्तान रामचन्द्र बाजे दुबैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार रहेको बताए ।
सोमबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा मधेसप्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
फाइनल खेलमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ । तीन वर्षदेखि फ्लड लाइटमा खेल सञ्चालन भइरहेको सिमरा रङ्गशालामा दर्शकको उपस्थिति उत्साहजनक रुपले बढेको आयोजक क्लबका अध्यक्ष लामाले बताए ।
गोल्डकपको हालसम्मका विजेता
२०७९ चर्च ब्वाईज युनाईटेड
२०७८ न्युरोड टिम एनआरटी
२०७७ संकटा क्लब
२०७५ थ्रीस्टार क्लब
२०७४ त्रिभूवन आर्मी
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नवजनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मस्र्याङदी क्लब
२०६८ मनाङ मस्र्याङदी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर सहिद स्मृति क्लब ।


















