कलैया,यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप बारा निर्वाचन क्षेत्र नम्बर– २ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण प्रदान गरिएको छ ।क्षेत्र नम्बर २ को बरियारपुरस्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयमा सोमबार आयोजित दोस्रो चरणको तालिममा उक्त क्षेत्र अन्तर्गतका मतदानस्थल र मतदान केन्द्रमा खटिने २ सय ९० जना अधिकृत सहभागी भएका थिए ।

तालिमका क्रममा मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका, जिम्मेवारी तथा अधिकारबारे विस्तृत जानकारी गराउनुभएको थियो । यस्तै, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेलले मतदान प्रक्रियाको व्यवस्थापन, मतदाता सहजीकरण र सम्बन्धित कानुनी प्रावधानका विषयमा सहजीकरण गर्नुभएको थियो ।

जिल्ला निर्वाचन कार्यालय बाराका सूचना अधिकारी मुकेशकुमार सिंहका अनुसार मतदान अवधिभर शान्तिसुरक्षा कायम राख्ने उपाय, मतपत्र तथा मतपेटिकाको सुरक्षा व्यवस्थापनजस्ता विषयमा समेत प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा बारा क्षेत्र नम्बर– १ का निर्वाचन अधिकृत शम्भुकुमार बस्नेत, क्षेत्र नम्बर– २ का किरण कुमार सिंह तथा क्षेत्र नम्बर– ४ का निर्वाचन अधिकृत गम्भीर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply