सेढवा,पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ मा जैविक विविधता संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिको आयोजना एवम् तराई भूपरिधी कार्यक्रम (ताल) को सहयोगमा सम्पन्न कार्यक्रममा जैविक विविधता संरक्षणको सवालमा मानव समुदाय गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए ।पछिल्लो समय बढ्दै गएको पृथ्वीको तापक्रम न्युनीकरण गर्न र जैविक विविधता संरक्षण गर्न वनजङ्गलको संरक्षण नै अन्तिम विकल्प भएको सहभागीहरुको धारणा थियो ।
यस्तै कार्यक्रममा ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले संरक्षणमा नेपाली सेना र वन कर्मचारीभन्दा स्थानीय जनता बढी सक्रिय हुँदासमेत निकुञ्ज प्रशासनले कडाइ गर्दा जनतामा निकुञ्जप्रति नकारात्मक धारणा बन्दै गइरहेको विचार व्यक्त गर्नुभयो ।निकुञ्जको अव्यवहारिक नीति नियम र शैलीको कारण स्थानीय सरकारलाई मध्यवर्ती क्षेत्रका गाउँमा विकास गर्न नै कठिनाइ भएको बताउनुभयो । कतै न कतै निकुञ्जको कर्मचारी प्रशासनको कारण स्थानीयलाई समस्या भईरहेको बताउँदै प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष श्रेष्ठले निकुञ्जसंगसंगै मिलेर काम गर्न पालिका तत्पर भए पनि निकुञ्जकै कारण करौडौंको पर्यटन विकासका बजेट फ्रिज भएको बताउनुभयो । यस्तै किसानले आफ्नो स्वामित्वमा रहेको खेतबाट माटो निकाल्न समेत निकुञ्जलाई सोध्नुपर्ने र अनुमति लिनुपर्ने अवस्था विद्यमान रहनु अत्यन्त दुःखद भएको उहाँको भनाई थियो ।
















