सिमरा,पर्सा राष्ट्रिय निकुञ्जले बिना अनुमति हातहतियार, भरुवा बन्दुकसहित निकुञ्जभित्र प्रवेश गर्ने र सतिसालको रुख काट्ने ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको इजलासले निकुञ्जको कोर क्षेत्रभित्र अनुमति बिना भरुवा बन्दुक र अन्य बन्दोबस्तीको सामानसहित प्रवेश गरेको कसुरमा २ जना र सतिसालको रुख कटान गरेको अभियोगमा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।निकुञ्जले हेटौँडा उपमहानगर वडा नम्बर १३ का तिलकबहादुर थिङ्ग (२७) र वडा नम्बर १४ कालोपानी बस्ने राजीव घलान (२२)लाई भरुवा बन्दुक र हतियारसहित निकुञ्ज प्रवेश गरेको अभियोगमा नियन्त्रणमा लिएर पुर्पक्षका लागि थुनामा पठाएको हो ।उनीसँग भरुवा बन्दुक २ थान, फलामे छर्रा (गोली), बारुद र अन्य बन्दोबस्तीका सामानसहित निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका थिङ्ग र घलानलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, दफा २६ उपदफा (६) अनुसार धरौटी बुझाउन नसकेपछि शुक्रवार पुर्पक्षका लागि थुनामा पठाइएको निकुञ्जका रेन्जर जयराम न्यौपानेले बताउनुभएको छ ।यस्तै निकुञ्जको सिकारी पोस्टबाट खटिएको कर्मचारी र नेपाली सेनाको अर्को टोलीले अवैध रूपमा सतिसालको रुख कटान गरिरहेको अवस्थामा ८ वटा गोलिया र सो गोलाया नाप्ने फित्तासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । साल प्रजातिको रुखमध्ये सतिसाल सबैभन्दा मूल्यवान् मानिन्छ ।दुर्लभ वनस्पतिअन्तर्गत पर्ने सतिसालको गोलायासहित पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ का सहदेव सकुल (४०), सोही ठाउँका हिरालाल मुखिया बिन (५०), आसदेव मुखिया (४०) र जितेन्द्र मुखिया (२३) लाई नियन्त्रणमा लिएर प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको इजलासले शुक्रवार नै पुर्पक्षका लागि थुनामा पठाउन फैसला गरेको हो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ४ जनालाई वीरगञ्ज कारागार पठाइएको निकुञ्जले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here