वीरगञ्ज,प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले बाराको कलैयास्थित नवजन्म पुनस्र्थापना केन्द्रमा भएको हत्याको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्नुभएको छ ।प्रतिनिधि सभामा आइतवारको बैठकमा बोल्दै बारा क्षेत्र नम्बर १ का सांसद मैनालीले कलैया उपमहानगरपालिकामा सञ्चालित ‘नवजन्म पुनःस्थापना केन्द्र’ मा आश्रीत कलैयाका प्रदीपप्रसाद मण्डल (धिरेन्द्र) माथि अमानवीय तवरले सामूहिक रूपमा निर्घात कुटपिट गरी हत्या गरिएको घटनाले जिल्लामा सर्वसाधारणलाई स्तब्ध बनाएको बताउनुभएको छ । उहाँले लागू औषध प्रयोगकर्ताहरूका लागि सञ्चालन गरिएका सुधार तथा पुनःस्थापना केन्द्रहरूमा नियमित अनुगमनको आवश्यकतामा जोड दिँदै भन्नुभयो, “यस्ता सुधार गृहहरूका नाममा अमानवीय गतिविधि स्वीकार्य छैन । नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा यस्ता हृदयविदारक घटना दोहोरिरहेका छन् ।”
उहाँले ‘लागू औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५’ अनुसार सरकारको तिनै तहको लगानी तथा व्यवस्थापन भए पनि सुधार गृहहरूको वास्तविक अवस्था नियमन गर्न जरुरी रहेको बताउनुभयो ।
सांसद मैनालीले देशभरका पुनःस्थापना केन्द्रहरूको निगरानी र अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संसदमा भन्नुभयो, “सुधार गृह यातना गृहमा परिणत भएको छ । यस्ता किसिमका घटना दोहोरिन नदिनका लागि पनि संसदको ध्यानाकर्षण गराएको छु । नियामक निकायले प्रभावकारी अनुगमन गर्न जरुरी छ ।”सभ्य समाज निर्माणका लागि यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकारको ध्यानाकर्षण गराउँदै सांसद मैनालीले जिल्लाको सदरमुकामजस्तो संवेदनशील क्षेत्रमा पुनः यस्तो घटना नदोहोरियोस् भन्नका लागि कडा निगरानी र कानुनी कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।सांसद मैनालीले संसद बैठकमा बोल्दै घटनाको निन्दा र मृतकप्रति श्रद्धाञ्जली एंव शोकाकुल परिवारजनमा समवेदना पनि प्रकट गर्नुभएको छ ।



















