धरान,धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुदीपराज पाठकका अनुसार मृत्यु हुनेमा इटहरी ९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका २ का ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी ५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी ९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी ५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डीएसपी पाठकले जानकारी दिनुभयो ।
किशन राईको उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को१ज २५९३ नम्बरको जिप बिहीवार बिहान १०ः३० बजेतिर उदयपुरको बेलका ७ मैनामैनीमा दुर्घटना भएको थियो । जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


















