वीरगञ्ज । सर्लाहीको मलंगवामा मन्दिरभित्र पसेर मूर्ति तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका – ८ बस्ने ३३ वर्षीय राकेश बैठा रहेको प्रहरीले जनाएको छ ।मङ्गलवार साँझ मलंगवा – ८ स्थित रहेको राजदेवी मन्दिर र वडा नम्बर ९ स्थित रहेको झिलमिलियामाइ मन्दिरमा तोडफोड भएको थियो ।
घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा भेट्टाएको प्रमाणका आधारमा बैठालाई पक्राउ गरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा सूचना अधिकारी एसपी श्याम कुमार महतोले बताउनुभयो । उहाँका अनुसार बैठाविरुद्ध धर्म सम्बन्धी कसुरमा अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गर्ने अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


















