कलैया,जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक स्थलमा डिजे साउण्ड नबजाउन सर्वसाधारणसंग आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले बिहीवार सूचना जारी गर्दै चर्को ध्वनी निष्कासन हुने गरी डिजे साउण्ड बजाएर अभद्र र उच्छृंखल प्रकारका गतिविधि नगर्न÷नगराउन अनुरोध सबैमा गरेको हो । सार्वजनिक स्थलहरुमा बजाइने डिजे साउण्डले सर्वसाधारणको जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यस्ता कार्य गरेको पाइए कारबाही गर्ने पनि प्रहरी कार्यालयले चेतवानी दिएको छ ।
प्रहरीले जारी गरेको सूचनामा जिल्लाका विभिन्न स्थानहरुमा बजाइने डिजे संगितले ध्वनी प्रदूषण बढाएर मानिसमा मानसिक, शारीरिक तथा सामाजिक तनाव तथा द्धन्द्धको वातावरण सृजना हुने, झै झगडाका बढ्ने जस्ता घटना वृद्धि हुनेभन्दै सर्वसाधारणले गुनासो गरेकाले डिजे साउण्ड बजाउन रोक लगाइएको जनाइएको छ ।प्रहरीले यस्ता कार्य गर्नेमाथि प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत सूचनामार्फत दिएको छ ।
बाराका प्रहरी नायब उपरीक्षक प्रवक्ता दधिराम न्यौपानेले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदूषित गर्न नहुने भन्ने व्यवस्था र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत बिना यान्त्रिक साधनबाट ध्वनी, रेडियोकर्मी विकिरण वा जोखिमपूर्ण फोहोरमैलाको उत्पादन, प्रसारण ओसारपसार गर्न वा थुपार्न नहुने र सोहीको दफाको उपदफा (४) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।
उहाँले वातावरण संरक्षण ऐन २०७६ को परिच्छेद ३ को दफ १५ को उपदफा १ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण, औद्योगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलपाबाट हुने प्रदूषण नियन्त्रण गर्ने व्यवस्था रहेको र सो विपरित कार्य गर्नेलाई सोही ऐन बमोजिम न्युनतम ५ लाख रुपैँया जरिवाना र क्षर्तीपूर्तीदेखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षर्तिपूर्ति भराउने कानूनी व्यवस्था रहेको छ ।

















