निजगढ,गौरीशंकर बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष एकबहादुर श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवालाको भूमिका रहने बताउनु भएको छ ।शैक्षिक संस्थालाई सुव्यवस्थित बनाएर लैजानुपर्ने भन्दै उहाँले सुधारका लागि सधैं लागिरहनु पर्ने बताउनुभयो ।
सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय निजगढ ७ मा भएको शैक्षिक गुणस्तर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । विद्यालयका शिक्षकहरूको बीचमा भएको अन्तरक्रियामा बोल्दै उहाँले विद्यालयको संस्थागत विकासका लागि हरेक सरोकरवालाको जिम्मेवारी रहने बताउनुभयो ।विद्यालय र क्याम्पसबीच सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन भइरहेको भन्दै उहाँले विद्यालय तहबाट अध्ययन गरेर गएका विद्यार्थी पछि क्याम्पसमा भर्ना हुने भएकोले तल्लो तहबाट नै गुणस्तर सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
सोही अवसरमा क्याम्पसका प्रध्यापक तथा अनुसन्धानकर्ता डा. मायानाथ घिमिरेले विद्यालयको अवस्था, सुधार गर्नुपर्ने कुरा तथा यसका लागि गर्नुपर्ने क्रियाकलापका बारेमा प्रस्तुति राख्नुभएको थियो ।त्यसक्रममा विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णाकारले विद्यालय थप सुधार, विद्यार्थी संख्यामा वृद्धि लगायतका कार्यका लागि भइरहेका प्रयास तथा गर्न सकिने कामबारे बताउनु भएको थियो । आफुले गुणस्तरीय शिक्षा दिएर अभिभावकको मन जित्ने प्रयास गरिरहेको भन्दै प्रधानाध्यापक स्वर्णकारले यसमा विद्यालय सफल हुँदै गईरहेको बताउनुभयो ।नयाँ शैक्षिक सत्रमा विद्यार्थी संख्या वृद्धि गर्न अभिभावक भेटघाट, अन्तरक्रिया, छलफल लगायतका क्रियाकलाप गरिने प्रधानाध्यापक स्वर्णकारको भनाई छ । अन्तरक्रियामा विद्यालयका शिक्षकहरु हरिशरण सुवेदी, किरण, श्रेष्ठ, कल्पना आचार्य, अम्बिका घिमिरे, सविता पाण्डे, रिता तिमिल्सिना, रुपेश भट्टराई, निशा लामा, सरु थापा, सुरेन्द्र सुवेदी लगायतको सहभागीता रहेको थियो ।


















