निजगढ,त्रिभुवन राजपथस्थित चुरियामाई सुरुङको पुर्ननिर्माण कार्य सकिएको आठ महिनापछि सोमवारबाट सर्वसाधारणका लागि खुला गरिने भएकोछ ।बारा र मकवानपुरको सीमा क्षेत्रमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित चुरियामाई मन्दिरसंगै रहेको उक्त सुरुङ मार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि सोमवार हस्तान्तरण गर्ने भएको हो ।

सुरुङ संचालनका लागि नगरपालिकाले कार्यविधि बनाएको छ । कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निशुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाका अनुसार हस्तान्तरण भएपछि ‘चुरियामाई सुरुङ’ अवलोकनका लागि खुला गरिने छ ।एक सय ७ वर्षअघि निर्माण गरिएको उक्त सुरुङकोबीच भाग भाँसिएर अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको थियो । मुलुककै ऐतिहासिक मानिएको करिब २२५ मिटर लामो सो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको थियो ।सुरुङको प्रवेश द्वारमा सुरुङका डिजाईनर नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ थापाको अद्र्धकदको सालिक पनि निर्माण गरिएको छ । इन्जिनियर थापाले सुरुङ्गसंगै अमलेखगन्जदेखि भीमफेदीसम्म सडकको पनि डिजाइन गर्नुभएको थियो ।

Leave a Reply