बरियारपुर, मनहर्वा

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २३ भलुही टोलका १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा बारा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले १४ बर्षीय बालक शाहिद मंसुरीको हत्या आरोपमा तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही टोल बस्ने २५ वर्षीय कियामुद्दिन मंसुरी, सोही स्थानका २१ बर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ बर्षीय आबेदिन मियाँ अन्सारी रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका तीन जनाले गत फागुन ११ गते बालक मंसुरीको हत्या गरी शव वडा नम्बर १० बेहरा टोल स्थित एक उद्योग छेउमा खाल्डो खनेर गाडेका थिए ।

घरबाट बेपता भएको १७ दिनपछि बालक मंसुरीको शव गत फागुन २८ गते सडिसकेको अवस्थामा भेटिएको थियो । पक्राउ परेका तीनै जनाले हत्या आफुहरुले नै गरेको भनेर स्वीकार समेत गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनाले पारिवारिक तथा जग्गा सम्बन्धी विवादका कारण बालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले आपसी रिसइवी, झगडा एवं आर्थिक लाभका लागि हत्या गरेको प्रहरीले जनाएको छ । बाराका प्रहरी प्रवक्ता मिश्रका अनुसार तीनै जना अभियुक्तहरु लागुपदार्थ सेवनकर्ता रहेको र उनीहरुले एक दिनअघि नै बालकको हत्या योजना बनाएका थिए । पक्राउ परेका अभियुक्त मध्ये अफसान भन्ने अमर हुसेन मियाँ हजामले गाँजा खान जाउँ भनी बालक हुसेनलाई साथमा लिएर गएका थिए । आबेदिन र कियामुद्दिन मंसुरी घटनास्थलमा पहिलेदेखि नै रहेका थिए । त्यसपछि कयामुद्दिनले पछाडिबाट बालकको घाँटीमा डोरीले कसेर लडाएपछि आबेदिन र अफसानले बालकको घाँटी थिचेका थिए । बालकको मृत्यु भए नभएको यकिन गर्नको लागि आबेदिनले खुट्टा, कम्मर र ढाडमा दापले प्रहार गरेका थिए । पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयो ।

Leave a Reply