पोखरिया १० साउन– वीरगंजस्थित कोभिड अस्पतालमा मृत्यु भएकी किशोरीको शव पर्साको भेडाहा खोलामा व्यवस्थापन गर्न लागेको भन्दै विरोधमा स्थानीयले शनिबार प्रदर्शन गरेका छन ।
वीरगंजको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत भारत माइती भइ वीरगञ्ज महानगरपालिका २१ बस्ने १७ वर्षीया किशोरीको शुक्रबार साँझ कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । सोही दिन बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज ११ श्रीपुरकी अर्की ८५ वर्षीया महिलाको पनि मृत्यु भएको थियो ।
वीरगञ्ज महानगरपालिका ३१ मा पर्ने भेडाहा खोला छेउमा नेपाली सेनाले उनीहरुको शव व्यवस्थान गर्न खोजेपछि स्थानीय बासिन्दाहरु प्रदर्शनमा उत्रिएका हुन ।
जिल्ला प्रशासन कार्यालय पर्साले शनिबारबाट जारी गरेको निषेधाज्ञा आदेशको अवज्ञा गर्दै स्थानीयले प्रर्दशन गरेका थिए । यसअघिसमेत २ वटा शव सोही स्थानमा व्यवस्थापन भएको र अब उक्त क्षेत्रमा कोरोना संक्रमित शव व्यवस्थापन गर्न नदिने भन्दै प्रर्दशनकारीले प्रहरी प्रशासन र नेपाली सेनाकोसमेत विरोध गरेका थिए ।
प्रदर्शनमा वीरगञ्ज महागनरपालिका वडा नम्बर ३१ मा पर्ने बेल्वा, सोलखपुर, मिलन चोकसहित पर्सागढी नगरपालिकाका बासिन्दाहरुको सहभागिता रहेको थियो । यता, महानगरको वडा नं. ३२ लाल पर्साका स्थानीयहरुले भने सो सडकबाट आवत जावत गर्ने मोटरसाइकलबाहेक अन्य सवारी संचालनमा साधनमा रोक लगाएका छन ।
स्थानीयका अनुसार प्रशासनले शवको अन्यत्र व्यवस्थापन गर्ने निर्णय नगरेसम्म सडकमा कुनै पनि सवारी साधन तथा एम्बुलेन्ससमेत चल्न नदिने बताएका छन । त्यसैगरी महानगरपालिका वडा नं. ३२ का केही बासिन्दाले महानगरपालिकाका मेयर विजय सरावगी, संघीय सांसद प्रदिप यादवलगायतका नेताहरुको पनि विरोध गरेका छन ।
भोडाहा खोला किनारमा शव व्यवस्थापनका सहमति दिएको भन्दै उनीहरुले मेयर सरावगी र सांस यादवको विरोध भएको हो । वीरगञ्ज महानगरमा पछिल्लो ३ दिनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने ५० जना संक्रमित भेटिएका छन् ।