कृष्णउदास खनाल

वीरगन्ज,२०७२ साल साउन अन्तिमतिर मधेशमा अधिकारका लागि भन्दै तेश्रो पटक आन्दोलन भयो । अहिलेको मधेस प्रदेश लगभग बन्द रह्यो । यो बन्दको श्रृखला करिब ६ महिनासम्म कायम रहेको थियो । त्यत्तिबेला सत्ताको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्रको समर्थनमा सत्तामा रहनु भएका ओलीका विरुद्ध मधेशका सबै जिल्लाको सदरमुकाममा प्रदर्शन भयो । केपी ओलीको पुत्ला दहन भए र यो क्रममा केही नागरिकहरुको ज्यान गयो । सो क्रममाा नेकपा एमाले मधेस बिरोधी भएको भन्दै व्यापक प्रचार गरियो र २०७४ सालमा भएको आम चुनावमा एमाले र माओावदीको गठबन्धन भएकलो एमाले मधेस विरोधी भएको भन्ने प्रचारले खासै काम गरेन तर, २०७९ मंसिर ४ मा भएको चुनावमा भने नेकपा एमाले मधेसमा पहिलो पार्टी बन्न सफल भएको हो ।
मंसिर ४ मा भएको संसदीय निर्वाचनमा मधेस प्रदेशमा नेकपा (एमाले) सबैभन्दा ठूलो पार्टी बनेको छ । मधेस प्रदेशका ३२ प्रतिनिधि सभा सदस्य र ६४ प्रदेश सभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमालेले दुबैतर्फ सबैभन्दा धेरै सिट जितेको हो ।
प्रतिनिधि सभामा ३२ मध्ये एमालेले ९ सिटमा जित हात पारेको छ । २०७४ को चुनावमा प्रतिनिधि सभामा एमालेले मधेसबाट दुई सिट मात्र जितेको थियो । यो प्रदेशमा कांग्रेसले प्रतिनिधि सभातर्फ ७ सिटमा जित हात पारेको छ । जनता समाजवादी पार्टीले ६ सिटमा जित निकालेको छ भने लोकतान्त्रिक समाजवादीले ३ सिट जितेको छ ।
मधेसमा ३ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एक ठाउँमा जनमत पार्टीले जित हात पारेको छ । प्रदेश सभामा पनि एमालेले प्रत्यक्षतर्फका ६४ मध्ये १५ सिटमा जित हात पारेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले १३ सिट जितेको छ । समानुपातिकतर्फ भने अहिलेसम्मको मतगणनामा मधेस प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । मधेसी जनता विरोधीको ट्याग लागे पनि मधेसमा सत्ता गठबन्धन हुँदा समेत पहिलो पार्टी हुनु भनेको संगठन विस्तारको सवालमा एमाले बलियो रहेको भन्ने कुरा पुष्टि हुने राजनीतिक विश्लेषकहरुको भनाइ छ । माअोवादी मधेशमा निक्कै शुन्य हुनु र एमाले बलियो हुनुलाई भने एमालेका नेता कार्यकर्तहरुले आफ्नो ठूलै जित भएको ठानेका छन् ।

















