पुष्पराज खतिवडा

मनहर्वा,डिप बोरिङ्ग सहित जडान गरिएको ओभरहेड ट्याङ्कीबाट निस्केको पानी उचित निकास नहुँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वाका किसानको बीस बिगाहाभन्दा बढी खेत डुवानमा परेको छ ।

माथिल्लो बडहर्वामा निर्माण सम्पन्न भइसकेको बडहर्वा खानेपानी आयोजनको डिप बोरिङ्गबाट निस्किएको पानीको उचित व्यवस्थापन नहुँदा स्थानीय किसानको जमिन डुवानमा परेको हो । डुबानका कारण बाली लगाउन समस्या भएको स्थानीय किसानहरुले बताएका छन ।

दुई वर्ष अघिनै बोरिङ्ग र ओभर ट्याङ्की निर्माण सम्पन्न भएपनि संचालनमा नआउँदा त्यहाँबाट निकालिएको पानीले वरपरको जमिन डुवानमा परेर बाली लगाउन समस्या परेको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का वडा समिति सदस्य कुमार लामाले बताउनुभयो । डुबानका कारण तोरी, मुसुरो, मकै जस्ता हिउँदे बाली लगाउन समस्या भएको उहाँको भनाइ छ । खेतमा पानी जमेर किसानले पाकेको धान पनि भित्र्याउन नपाएको उहाँले बताउनु भएको छ । लामाका अनुसार खेतमा अहिले पनि घुँडाघुँडासम्म पानी जमेको छ ।

बोरिङ्गबाट निस्केको पानीको उचित व्यवस्थापन नगरिँदा स्थानीय किसानले समस्या भोग्नु परेको लामाले सुनाउनु भयो ।

निर्माणको काम सकेको पनि कार्यालयले पाईपिङ्ग गरेर खानेपानी धारा वितरणका लागि काम नगर्दा बोरिङ्गबाट निस्किएको पानीले वडा नम्बर १८ को बंकुल फाँटमा २० बिगाहा भन्दा बढी जमिन डुबानमा परेको अर्का स्थानीय बसन्त खतिवडाले बताउनु भयो । उहाँले पनि उचित निकासको अभावमा खानेपानी आयोजनाको बोरिङ्गबाट निस्किएको पानी पसेर खेत डुवानमा परेको र बाली लगाउन नपाएपछि किसान चिन्तित बनेको सुनाउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराले दुई वर्षअघि ओभरहेड ट्याङ्की निर्माणसँगै बोरिङ्ग गाडेर ८ ईन्चको पानी निकालेको थियो ।

 

बोरिङ्गबाट निस्किएको पानीको निकासको व्यवस्था गर्न कार्यालयमा पटकपटक ताकेदा गर्दा पनि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराले चासो नदेखाएको बडहर्वा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव शंकर दाहालले बताउनु भएको छ ।

उता, बोरिङ्गबाट निस्किएको पानीले पारेको असर र सोको व्यवस्थापनका लागि तत्काल अनुगमन गरी काम अघि बढाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका प्रमुख रविन्द्र देवले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here