निजगढ,नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला कार्यसमिति बाराले २८६०औं सोनाम ल्होछार पर्वको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा तामाङ्ग सास्कृतिक महोत्सव गर्ने भएको छ ।
कार्यक्रम बारे जानकारी दिने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को रामनगरमा आइतवार आयोजित पत्रकार सम्मेलनमा घेदुङ्गका जिल्ला अध्यक्ष सूर्यबहादुर घलानले सो कुराको जानकारी दिनुभएको हो ।
आगामी माघ १९ र २० गते गरी २ दिनसम्म हुने सो महोत्सवमा सांस्कृतिक कार्यक्रमसहित विशेष पूजापाठसमेत आयोजना गरिने बताइएको छ ।
अध्यक्ष घलानका अनुसार महोत्सवको पहिलो दिन माघ १९ गते बिहान रामनगर खेल मैदानमा ताम्बाहरुद्वारा पूजापाठ गरिने छ भने दिउसो उपमहानगरपालिकाका प्रमुख राजन पौडेलद्वारा कार्यक्रमको उद्धाटन र स्थानीय कलाकारहरुले तामाङ्ग सेलोको नृत्य प्रस्तुत गर्नेछन ।
त्यसैगरी माघ २० गते रोज मोक्तान, विशाल काल्तान, जीतु लोप्चन, साम्देन मुक्तानसहित राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुद्वारा गीत, नृत्यसहित सांकृतिक र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । तामाङ्ग समुदायमा सांस्कृतिक कार्यक्रममार्फत जागरण ल्याउने उद्देश्यले कार्यक्रम अयोजना गरिएको अध्यक्ष घलानले बताउनुभयो । ‘जिल्लाभरि छरिएर तामाङ्ग समुदायलाई पर्वको अवसर पारेर एकै स्थानमा भेला गराएर जागरण ल्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो, अध्यक्ष घलानले भन्नुभयो, यसबाट आपसी एकता र सामुदायिक जागरण पैदा हुने छ ।’ उहाँले अन्य जातिको तुलनामा तामाङ्ग समुदायमा मदिरापान जस्ता कुलत र शिक्षाप्रति बेवास्ता गर्ने प्रवृत्ति रहेको र यसमा सुधार गर्न पनि कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
जीतपुरसिमरा वडा नम्बर १७ का वडाध्यक्ष भिम रुम्बाले पनि तामाङ्ग समुदायको भाषा, संस्कृतिक विकास र पहिचान अभिवृद्धिको लागि कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले तराई क्षेत्रमा बसोबास गर्ने तामाङ्गहरुको संस्कृति लोप हुने अवस्थामा पुगेको र यसबाट समुदायको अस्तित्व नै संकटमा परेको पनि बताउनुभयो । उहाँले तामाङ्ग समुदायको पहिचान अभिवृद्ध गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम सफल पार्न स्थानीय अन्य समुदायको पनि साथ र सहयोग रहेको बताउनुभयो ।
एक तथ्याङ्क अनुसार बारा जिल्लामा तामाङ्ग जातिको जनसंख्या करिव ८५ हजार रहेको बताइएको छ ।
जिल्लाको निजगढ, कोल्हबी र जीतपुरसिमरामा यो समुदायको मुख्य बसोबास रहेको अध्यक्ष घलानले जानकारी दिनुभयो ।


















