कृष्ण मोहन साह
सेढवा,प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ देउरियाबाट ९ किलो ९ सय ग्राम लागुऔषध चरेस बरामद गरेको छ । शुक्रवार राति करिब पौने ९ बजेको समयमा गस्तीमा खटेका प्रहरीले उक्त परिमाण बराबरको लागुऔषध बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटेको प्रहरीको गस्ती टोलीले गहुँ खेतमा फालिएको अवस्थामा उक्त लागुऔषध फेला पारेको हो । थापाका अनुसार गस्ती गर्ने क्रममा मोटरसाइकलमा आइरहेको अपरिचित व्यक्तिले गहुँ खेतमा बोराको पोका फालेर मोटरसाईकलमा भागेको देखियो ।
बोराको पोका खोलेर हेर्दा १८ वटा पोकामा चरेस रहेको र नापतौल गर्दा ९ किलो १०० ग्राम रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
चरेस कस्को र कहाँ लग्न खोजिएको थियो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको थापाको भनाई छ ।
सखुवा प्रसौनीमा ११ कठ्ठाको गाँजा खेती नष्ट
सेढवा,इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले प्रतिबन्धित गाँजाखेती नष्ट गरेको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहमा अवैध रुपमा लगाईएको प्रतिबन्धित गाँजा खेती शुक्रवार फँडानी गरेर नष्ट गरेको हो ।
दिउसो १ः३० बजेको समयमा इलका प्रहरी कार्यालय र मातहत समेतबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले सखुवा प्रसौनीको ओराहास्थित ऐलानी जग्गामा अलग अलग ५ स्थानमा अन्दाजी ११ कठ्ठा जग्गा जमिनमा लगाइएको सात हजार गाँजाको बोट फाँडेर नष्ट गरेको पर्सा प्रहरीले जनाएको छ ।
अज्ञात व्यक्तिहरुले अवैध रुपमा लगाएको गाँजा खेती फडानी गरि सोही स्थानमा नष्ट गरिएको प्रहरीको भनाई छ । गाँजा लगाउने व्यक्तिहरुको बारेमा खोजतलास भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply