रौतहट,रौतहटको चुरे आसपासको वन क्षेत्रमा बहुमूल्य जातका खयरका काँचा रुख काटिएको भेटिएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने महादेव डाँडामा दर्जनौंको सख्यामा खयरका रुख काटिएको अवस्थामा फेला परेको हो ।डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जङ्गलमा बहुमूल्य जातका खयरका रुखहरू फडानी भएको हो ।
जुडिबेला सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदा समेत वन कर्मरीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् ।काठ तस्करहरुले चुरेको डाँडामा खयरका रुख काटेर गोलाई बनाई पहाडमाथिबाट लडाएर खोलामा झार्ने र त्यहाँबाट लैजाने गरेको स्थानीयको भनाई छ ।रौतहटको चुरे क्षेत्रमा बहुमूल्य जातका खयरका रुख काटिएको विषयमा जुडिबेला सब वन डिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई धेरै रुख काटिएको बारेमा जानकारी नभएको बताउनुभएको छ ।
सो स्थानमा कर्मचारी पठाएको र वन कर्मचारीले एक दुईवटा मात्रै खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोको भनाई रहेको छ ।

















