निजगढ,रकम लेनदेनमा कुरा मिलेपछि पक्राउमा परेका गाँजाका तस्करहरुलाई प्रहरीले त्यसै छोडेको छ ।

निजगढ नगरपालिका वडा नम्बर ११ को रतनपुरी प्रहरी चौकीले नियन्त्रणमा लिएका लागूऔषध गाँजाका स्थानीय दुईजना तस्करलाई रकम बुझाउने सर्तमा त्यसै छोडेको हो ।

३ दिन अघि प्रदेश २—०३—००१ ह ३२१ नम्बरको अटोमा राखेर रतनपुरबाट निजगढतर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले ६० किलोग्राम लागूऔषध गाँजासहित स्थानीय २ युवा र उनीहरुले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । तर ना १४ प ६८०० नम्बरको मोटर साईकलबाट गाँजा बोकेको अटोको स्कटिङ्ग गर्दै आएका निजगढ नगरपालिका वडा नम्बर १२ का दुईजना युवाहरुलाई भने अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद यादवले रकम दिने सर्तमा छोडेका हुन ।

प्रहरी चौकीका इन्चार्ज यादवको टोलीले निजगढ– रतनपुर सडक खण्डको तपस्वी स्थल नजिकको जंगलबाट गत सोमबार गाँजा बोकेको टेम्पु र मोटरसाइकलसहित उनीहरुलाई राति करिव ८ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका मध्ये एकजनालाई प्रहरीले हतकडी समेत लगाएर राखेको थियो ।

रकम लेनदेनमा कुरा मिलेपछि करिब आधा घण्टापछि उनीहरुलाई त्यसै छोडिएको हो । सुरुमा आफुसंग ७ लाख रकम दिनुपर्ने भन्दै बार्गेनिङ्ग गरेको र भोलिपल्ट बिहान २ लाख ५० हजार बुझाउने सर्तमा आफुहरुलाई छोडेको नियन्त्रणमा परेका मध्ये एकजना युवाले भने । आफुसंगै स्कटिङ्गमा रहेका अर्का युवकले प्रहरीलाई बुझाउनु पर्ने रकम तत्काल दिन दवाव दिएपछि ती युवकले आफुलाई प्रहरीसंग मिलेर फसाउन खोजेको आशंका गरेका छन । अर्का युवकले निजगढस्थित बागदेव मोहोरी ढोकामा रकम लिएर आउन फोनबाट पटकपटक दवाव दिएपछि उनले घटना सार्वजनिक गरेका हुन । ‘मलाई उसैले फकाएर लग्यो, प्रहरीले पक्राउ गरेर छोडेपछि अहिले फेरि रकम बुझाउन दवाव दिएको छ, उनले भने, प्रहरीको मिलिमतोमा मसंग रकम बार्गेनिङ्ग भएको छ ।’ उनले आफु रकम नबुझाउने बरु घटनाको सत्यतथ्य सबै सार्वजनिक गरिदिने बताएका छन । उनका अनुसार मकवानपुरको हटियाबाट ल्याइएको गाँजा पुर्वपश्चिम राजमार्गको निजगढसम्म पुर्याउन भन्दै साथीले आग्रह गरेपछि उनी मोटरसाइकलको पछाडि बसेर संगै जान तयार भएको बताएका छन ।

अस्थायी प्रहरी पोष्ट रतनपरका इन्र्चाज यादवले प्रहरीले टेम्पुसहित गाँजा बरामद गरेको र चालक र अन्य मानिस भने फरार बनेको बताउनुभयो । उहाँले आफुहरुले रकम बार्गेनिङ्ग नगरेको र फरार रहेका तस्करहरुको खोजी कार्य जारी राखेको बताउनुभएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकर चौधरीले पनि घटनाको बारेमा छानबिन भइरहेको बताउनुभएको छ । स्थानीय प्रहरीले पनि आफुलाई गाँजाका तस्कर भागेको र गाँजासहित एउटा टेम्पु र मोटरसाइकल बरामद भएको भनेर जानकारी दिएको उहाँले बताउनुभयो ।

गाँजा लोड अटो सोही रात र तस्करहरुले प्रयोग गरेको मोटरसाइकल भने भोलिपल्टमात्र ईप्रका निजगढ ल्याइएको थियो । घटना मिलाउन स्थानीय गाँजाका तस्कर र केही जनप्रतिनिधिहरुसमेतले चलखेल गरिरहेको बताइएको छ ।

Leave a Reply