बसन्त लामा
सिंगौल,रौतहटकी महिला अधिकारकर्मी पुजा पाठक तिमल्सिनाले ठगी धन्दा चलाएको भन्दै मेची महाकाली बुहारी संयुक्त आवाजले केन्द्रीय सदस्य पदबाट बरखास्त गरेको छ ।पाठकले महिलाहरुलाई आजिवन सदस्य बनाउन भनेर उठाएको सदस्यता शुल्कको हिसाब किताब गोलमाल पारेको आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।त्यसैगरि संस्थाको दुरुपयोग गरेर विधान विपरित विभिन्न व्यक्तिलाई चेक काटेर आर्थिक हिनामिना गरेको विज्ञप्तिमा उल्लेख छ ।संस्थाले पटक–पटक छलफल गरेको र रकम फिर्ता गर्ने सहमति जनाएपनि रकम नबुझाएपछि केन्द्रीय कार्यसमितिको बैठकले पदबाट बरखास्त गर्ने निर्णय गरेको आवाजकी अध्यक्ष काफ्लेले हस्ताक्षर गरेर सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा निजसँग कुनै संस्थागत आर्थिक कारोबार नगर्नु, नगराउनु हुन पनि सम्बन्धि सबैमा आग्रह पनि गरिएको छ ।रकम हिनामिना गरेको आरोपमा संस्थाले पाठकमाथि छानबिन थालेपछि उनी हाल अर्को संस्थामा सक्रिय भएकी छिन् । पाठक अहिले नेपाल स्वयंसेवक संघको मधेस प्रदेश अध्यक्ष बनेकी छिन् ।


















