काठमाडौं,नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार आफै अराजकता मच्चाएर शान्ति सुरक्षाका नाममा नागरिकको हत्या गर्ने काममा उत्रिएको बताउनु भएको छ ।सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महासचिव पोखरेलले भिड नियन्त्रणका मापदण्ड प्रयोग नगरी नागरिकलाई गोली नै हान्ने काम सरकार पक्षबाट भइरहेको भन्दै कडा आपत्ति जनाउनु भयो । ‘गलत ढङ्गले शक्तिको प्रयोग गर्ने र त्यसबाट निहत्था नागरिक मारिने क्रम बढेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।उहाँले कोरिया जान चाहने विद्यार्थीको परीक्षाका विषयमा उत्पन्न विवादपछि जुलुस निस्किएको ठाउँमा मन्त्रीको गाडी जाने, मन्त्री आफै भिडसँग बिवाद गर्ने, त्यसलाई सुरक्षा निकायले यथोचित सुरक्षा दिन नसक्ने, मन्त्रीलाई रोकियो भनेर अन्धाधुन्ध गोली चलाउने घटनाले सरकार कति गैर जिम्मेवार छ भन्ने कुरा प्रष्ट पारेको बताउनु भयो । ‘सरकार नागरिकप्रति कति संवेदनशील छ भने कुरा यसले पुष्टि गर्दछ’, उहाँले भन्नुभयो ।निर्दोष मानिस मारेपछि क्षतिपूर्तिको कुरा गर्ने र सहिदको रूपमा सम्मान गर्छौं भन्ने नाममा नागरिकको जीवनलाई सरकारले पैसासँग तुलना गर्ने र सहिदकै अपमान गर्ने काम गरेको उहाँले बताउनुभयो । यसले सहिदको गरिमालाई अवमूल्यन गर्ने काम गरिएको उहाँले प्रष्ट पार्नुभयो ।यस्तै सर्लाहीको बरथहवामा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पताल प्रदेशलाई दिनुपर्दछ भनी सत्ताधारीले नागरिकलाई उत्तेजित बनाउने काम गरेर एक युवाको हत्या गरेको महासचिव पोखरेलले बताउनु भयो । सरकार चाहे कोशी प्रदेशको नामका सन्दर्भमा होस वा गौर घटना र अन्य घटनामा होस् सरकारले गैर जिम्मेवार तरिकाबाट समाजलाई गलत बाटोमा लैजाने काम गरेको पोखरेलले टिप्पणी गर्नुभयो । सरकार आफैले सामाजिक अराजकता मच्चाउने काम गरेको पनि उहाँले बताउनुभयो ।

Leave a Reply