निजगढ नगरपालिका वडा नम्बर ९ स्थित शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुदाँ निमार्ण कार्य अधुरो रहेको छ । नियमित रूपमा साना ठूला खेलकुद गतिविधि भइरहने सो रंगशालामा बजेट अभावमा अधुरो रहेको हो ।
८ वर्षअघि तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधिन फास्ट ट्र्याकलाई ध्यानमा राखेर शहीद हिरालाल रंगशाला निर्माणको शुरुवात गर्नुभएको थियो ।सोही अनुसार पहिलो चरणमा रंगशालाको चार किल्ला छुट्टाउने, तरबार गर्न, खेल मैदान बनाउने कार्य र रंगशालाको डिपिआर समेत तयार पारिएको हो । तर मन्त्री पौडेलले २०७२ मा मन्त्रालय छाडेपछि सो रंगशालामा थप बजेट निकासा छैन । यो अवधिमा युवा तथा खेलकुद मन्त्रालयमा आठ जना मन्त्री, दुई जना राज्यमन्त्री र एक सहायकमन्त्री भइसकेका छन तर यस रंगशालाले अहिलेसम्म थप बजेट भने पाउन सकेकोछैन ।ठूला प्रतियोगितासमेत संचालन गर्न सकिने सो रंगशालामा बजेट अभावमा थप निर्माणको कार्य त कता हो कता मर्मत सम्भारको कामसमेत हुन सकेको छैन । रंगशालाको मैदानमा हाल दुबो उप्किएर खाल्डाखुल्डी बनेको र मर्मतको अभावमा जीर्ण भएर अध्यास गर्नसमेत असजिलो हुने गरेको सोही मैदानमा अभ्यास गरेर अन्डर १९ नेपाली फुटबल टोलीमा समावेश भएका निजगढ ७ का नेपाली टिमका फरवार्ड समीर तामाङले बताउनुभयो । रंगशालाको अवस्था दयनीय बनेपछि स्थानीयको पहलमा बाहिरी क्षेत्रमा विरुवा रोपेर थोपा सिँचाइमार्फत हरीत रंगशाला बनाउने प्रयास गरिदैआएको शहीद हिरालाल रंगशाला व्यवस्थापन समितिका अध्यक्ष एवंम पूर्वजनप्रतिनिधि जगतबहादुर न्यौपानेले बताउनुभयो । ‘स्थानीय सरकारको सहयोगबाट बेलाबेलामा रंगशालाको मर्मत सम्भार गर्दै आएका छौं, न्यौपानेले भन्नुभयो, तर राष्ट्रिय खेलकुद परिषद र संघीय सरकारले भने अहिलेसम्म कुनै रकम पठाएको छैन ।’ उहाँले आन्तरिक स्रोत जुटाएर खेल मैदानको तारबार र लेबलिङको काम गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।



















