सिमरा,बाराको सिमरास्थित सिमरा कलेजले पहिलोपटक पूर्वविद्यार्थी भेलाको आयोजना गरेको छ ।सिमरा कलेजको आयोजना तथा पूर्वविद्यार्थी परिषदको सहजीकरणमा भएको कार्यक्रममा करिब डेढ सय पूर्वविद्यार्थी सहभागी भएको सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो ।
कलेजमा अध्यापन गराएका पूर्वप्राध्यापकहरु रामप्रसाद अधिकारी, अच्युतदेब सिटौला र इद्रिस मियाँलाई पूर्वविद्यार्थीहरुले सम्मान गरेका थिए । सो अवसरमा कलेजका पूर्वसहायक क्याम्पस प्रमुख तथा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम नगर प्रमुख स्व. डा.कृष्ण पौडेललाई मरणोपरान्त सम्मान गरिएको थियो । स्व. पौडेलका छोरा सुफल पौडेलले सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा पुर्वविद्यार्थीहरुले आफ्नो कलेज जीवनको अनुभव सुनाएका थिए । कार्यक्रममा कलेजका पूर्व विद्यार्थीसमेत रहेका गजलकार अविनाश सापकोटाले रचना वाचन समेत गर्नुभएको थियो ।सिमरा कलेज व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष मधुकर अधिकारीको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका किशोर त्रिपाठी, इश्वर ढुंगेल, कृष्ण पुडासैनी, पूर्वविद्यार्थी परिषद तदर्थ समितिका संयोजक नृपराज बराल लगायतको उपस्थिति रहेको थियो ।
सिमरा कलेजका शिक्षक राजु कार्कीको सहजीकरण तथा सञ्चालक समिति सदस्य गीता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा कलेज प्रमुख शालिकराम अधिकारीले स्थापना कालदेखि हालसम्मको भिडियो प्रस्तुतीकरण सहित कलेजको वर्तमान अवस्थाका विषयमा पूर्वविद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।पूर्वविद्यार्थीहरुको भेलाले सिमरा कलेज शैक्षिक विकास कोषको स्थापना समेत गरेको छ । कोषमा कार्यक्रममा सहभागी विद्यार्थीहरुबाट डेढ लाख रुपैयाँ जम्मा भएको छ भने यस अक्षय कोषलाई बढाउने प्रतिवद्धता गरेको पूर्वविद्यार्थी परिषदका संयोजक नृपराज बरालले जानकारी दिनुभयो ।
२०६० सालमा श्रीमद् भागवत साप्ताह ज्ञान महायज्ञमार्फत आर्थिक सहयोग संकलन गरी स्थापना भएको सिमरा कलेजले हाल व्यवस्थापन संकायमा स्नातकोत्तर तथा शिक्षा संकायमा स्नातक तहसम्मको अध्यापन गराउँदै आएको छ । सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवनबाट पठनपाठन शुरु गरेको सिमरा कलेजसंग हाल आफ्नै सुविधा सम्पन्न भवन समेत रहेको छ ।‘गुणस्तरीय शिक्षा मर्यादित परीक्षा’ भन्ने मुल नारा बोकेको सिमरा कलेज हाल मधेस प्रदेशमै सर्वाधिक सफल नतिजा ल्याउने सामु्दायिक क्याम्पसका रुपमा प्रसिद्ध छ ।


















