रौतहट,व्यापारीलाई धम्काएर लाखौँ रकम माग गर्ने व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ का ३४ वर्षीय भैयाराम साह पक्राउ रहेका छन् । साहले व्यापारीहरूलाई फोनमार्फत धम्की दिँदै पैसा माग गरेको प्रहरीको आरोप छ ।उनलाई बिहीवार प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार साहले व्यापारीलाई १० देखि १८ गतेसम्म फोन गरेर पाँच लाखदेखि ५० लाखसम्म माग गरेका थिए । रकम नदिए परिवारका सबै सदस्यलाई मारिदिने धम्की दिएको प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताउनुभयो । डिएसपी गिरीले यसबारे थप अनुसन्धान भइरहेको जानकारी गराउनुभयो ।यसैबीच रौतहट प्रहरीले झण्डै १८ लाख रुपैयाँ भन्दा बढीको नेपाली नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ ।रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाललाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोट सहित पक्राउ गरेको हो ।पटेल चोकमा सवारी चेकजाँचको क्रममा प्रहरीले जयसवालको साथबाट १ हजार ८४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी गिरीले बताउनुभएको छ ।


















