काठमाण्डौ – स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटेको छ ।
बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय भएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बताउनुभयो । उहाँका अनुसार बहिरङ्ग सेवा ५० रुपैयाँ र इमर्जेन्सी सेवाबापतको शुल्क एक सय रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेदेखि लागू हुने उहाँले बताउनुभयो । यसअघि बहिरङ्ग सेवा शुल्क एक सय र इमर्जेन्सी सेवा शुल्क चार सय रुपैयाँ थियो । स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरीमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको पनि उहाँले बताउनुभयो ।यस्तै, स्वास्थ्य बीमा कार्यक्रममा दर्ता भएपछि सेवा शुरु हुने समय तीन महिनाको रहेकामा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ ।

Leave a Reply